सभापति रवि लामिछाने विरुद्धको अनुसन्धानमा प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि अझै केही दिन म्याद थप्ने तयारी गरिएको छ ।
प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति मागिने जिल्ला सरकारी वकिलको कार्यालय कास्की स्रोतले बतायो ।
पछिल्लो पटक थपिएको ५ दिनको म्याद सकिनु अगाडि नै प्रहरीले सोमबार लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्वउपाध्यक्ष तथा पूर्वडिआइजी छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राइसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकी लिला पछाईविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
हामीले ३ वटै कसुरमा भएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका छौं । सरकारी वकिलको कार्यालयले सो प्रतिवेदनलाईसमेत आधार मानेर अदालतमा अभियोजन पेश गर्ने छ,’ प्रहरीका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन गरेर १/२ दिनभित्रै अभियोजन अदालतमा लैजाने छ ।’
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएका रविलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा कारबाही गर्न प्रहरीले सिफारिस गरेको छ ।
सहकारी ठगीमा पक्राउ परेका व्यक्तिलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ । यसैगरी संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ ।
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडिया प्रालिका पूर्व उपाध्यक्ष छविलाल जोशीलाई गत असोज ६ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो । त्यही सहकारी ठगी प्रकरणमै कात्तिक २ गते पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइएको थियो । एउटै मुद्दा भएकाले त्यसमै मिलान गरी रविसहितलाई हिरासतमा राखेर अनुसन्धान थालिएको थियो ।
प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो । त्यसैले ती सबै ठाउँमा लगेर रविको बयान गराइएको छ ।
संसदीय समितिको प्रतिवेदन अनुसार सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनमा उल्लेख छ ।