काठमाडौँ। बागमती प्रदेश सरकारले अनलाइन प्रणालीबाटै बाटो इजाजत पत्र उपलब्ध गराउने भएको छ ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले रुट परमिट लिन यातायात व्यवस्था कार्यालयमा हुने सेवाग्राहीको भीडलाई नियन्त्रण गरी प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले सो व्यवस्था ल्याएको हो । यातायातमन्त्री लक्ष्मण लम्सालले आज अनलाइनबाट रुट परमिट दिने कार्यको शुभारम्भ गरेका छन्।
सेवाग्राहीले कार्यालयको ‘भीआरएस’ सिस्टमको प्रयोग गरेर अनलाइन रुट इजाजत लिन सक्ने प्रदेश सचिव बलराम निरौलाले बताए । उनका अनुसार अनलाइनबाटै राजश्व पनि तिर्न सकिन्छ भने सेवाग्राहीले २४ सैं घण्टा सेवा लिन सक्नेछन् ।
‘पहिले काठमाडौं उपत्यकाको दुईटा र मकवानपुर, खुर्कोट र भरतपुरबाट पटके रुट इजाजत लिन सकिन्थ्यो । पटके लिन आउने सेवाग्राहीको भीड थेगिनसक्नु भएपछि यो व्यवस्था गरेका हौं । अब सेवाग्राहीले सहजै रुट परमिट लिन सक्नुहुन्छ’, निरौलाले भने ।
बागमती प्रदेशभरको यातायात व्यवस्था कार्यालयमा यो व्यवस्था लागू भएको मन्त्रालयले जनाएको छ ।