काठमाडौँ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् ।मंगलबार बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका २५/२६ वर्षका दुई युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा एक जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पन्जियार थारूले जानकारी दिए ।