काठमाडौं। रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली युवाका आफन्तले शवको पहिचानका लागि डीएनएको नमूना बुझाएका छन् ।
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेर विहीबार मृतकका परिवारहरूले डीएनएको नमुना दिएका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गत २४ फागुनमा रुसले रुसी सेनामा मृत्यु भएका १५ जना नेपालीको शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डीएनएको नमुना पठाइदिन पत्राचार गरेको थियो ।
परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बीसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारलाई डीएनए संकलनका लागि बोलाएको छ ।

