काठमाण्डाै । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका बासिन्दा फेरि आन्दोलित भएका छन् । उनीहरुले काठमाण्डौको फोहर लिएर गएका गाडीलाई बिहानैदेखि बीच बाटोमै रोकेका छन् । ककनी गाउँपालिका वडा २ र ३ सशस्त्र प्रहरीको बेसक्याम्प नजिक स्थानीयबासिन्दाले फोहरका गाडीलाई रोकेका गाउँपालिकाका सूचना अधिकारी सुनिल आचार्यले जानकारी दिनुभयो । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ ।
बञ्चरेडाँडा नुवाकोट र धादिङको सीमानामा तथा सिसडोल नुवाकोटमा पर्छ । काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै आजदेखि फोहर फाल्न रोकेका हुन् । बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।
गएको जेठ २६ गते सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने प्रभावित बासिन्दाको माग रहेको छ । केही दिनअघि मात्रै ककनी गाउँपालिकाले फोहर बोकेर बञ्चरेडाँडा जाने हरेक ठूला ट्रकबाट १५ सयसम्म प्रवेश शुल्क लिने र साना ट्रकको एक हजार रुपैयाँ लिने निर्णय गरेको थियो । अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीय बासिन्दाको स्वास्थ्य महत्त्वपूर्ण भएकाले फोहर फाल्न रोकेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताउनुभयो । अहिले शनिवारबाहेक दैनिक एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहर बन्चरेडाँडामा पुग्ने गरेको छ ।
शनिवार भने एक सय ५० वटासम्म ट्रक फोहर बोकेर बञ्चरेडाँडा पुग्ने गरेका छन् । काठमाण्डौ महानगरले विगतमा भएको सम्झौतालाई कार्यान्वयन गर्दै गएको जनाएको छ । महानगरअन्तर्गत वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार अहिले अवरोध गरे पनि स्थानीय बासिन्दाका धेरैजसो माग पूरा भएका बताउनुभएको छ । केही मागहरुलाई क्रमशः कार्यान्वयन गर्ने उहाँको भनाइ छ । महानगरका सहप्रवक्ता दिपक अधिकारीका अनुसार स्थानीय बासिन्दाको मागअनुसार त्यस क्षेत्रको वातावरणीय अध्ययनको काम पनि शुरु भएको छ।