काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले बुधबार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनबारे दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर दुःखको घडीमा असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा चर्काे आलाेचना भएपिछ क्षमा मागेकी हुन्।
बुधबार प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन कोटेश्वरस्थित माओवादी केन्द्रको मुख्यालय पुगेकी तोसिमाले संवेदनाहीन अभिव्यक्ति दिएकी थिइन्। उनको दिएको सार्वजनिक अभिव्यक्तिमा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त?’ भन्ने खालका अभिव्यक्तिहरू दिएकी थिइन्।
उनको अभिव्यक्ति अमानवीय र अपरिपक्कताको पराकाष्ट भन्दै सामाजिक संजालमा भाइरल भएपछि डा. तोसिमाले क्षमा मागेकी हुन्। शाेककाे घडीमा पनि असंवेदनशील भएर विवादास्पद अभिव्यक्ति दिएको भन्दै चर्काे आलोचना भएपछि उनले दिएका अन्तवार्ताको केही टुक्राहरु अहिले सामाजिक संजालमा भाइरल भएका छन्।
आफ्नाे अभिव्यक्तिकाे चर्काे विराेध भएपछि उनले बुधबार राति नै सामाजिक संजालमा माफी माग्दै आफ्नो भनाइ तोडमोड गरिएको जिकिर छिन्। आफूले गलत बोलेकोबारे भने उनले केही बोलेकी छैनन्। उनले भनाइलाई तोडमोड गरी राखिएको र पूरा भिडियो सुन्न आग्रह गरेकी छिन्। साथै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा क्षमा मागेको बताएकी छिन्।
तोसिमाले सामाजिक सञ्जालमा बुधबार राति लेखेकी छन्:
‘सम्माननीय प्रधानमन्त्रीज्यु की धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदरणीय आमा सीता दाहालको असामयिक निधनले समग्र देशवासीलाई मर्माहित तुल्याएको छ। जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागी दिनुभएको योगदान लाई ईतिहासले सम्झनुपर्छ। उहाँले आफ्नो जीवनभर विना स्वार्थ विना कुनै पद र सम्मानको लोभ, गर्नुभएको योगदान प्रति नतमस्तक छौँ, सम्मानित उहाँप्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै प्रधानमन्त्रीज्यु र समग्र परिवारलाई विचलित नभई यो दुःखद घडिको सामना गर्न शक्ति मिलोस् भनि कामना गर्न चाहन्छु ।
म स्वयम्ले पेरिस डाँडामा राखिएको उहाँको सम्मानित पार्थिव शरिरमा फूल र श्रद्दा अर्पण गरेपछि केहि मिडियाकर्मी साथीहरुले लिनुभएको बाईटलाई तोडमोड गरी राखिएकोमा, पुरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु् र साथै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु ।
https://www.facebook.com/newsexpresstv1/videos/796966172090849


