काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै एमालेले अवरोध गरेपछि यही असार २५ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले ढ्यापढ्याप पार्दै समय मागे । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिनुभयो ।
न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोपमा राजीनामा नआएसम्म बैठक चल्न नदिने बताउनुभयो । त्यसपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठे । अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बस्न र बैठक सन्चालनको वातावरण बनाउन आग्रह गर्नुभयो । तर एमाले सांसदहरुले मानेनन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले असार २५ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको जानकारी गराउनुभयो ।
असार २५ गतेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने र २६ गते सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको जानकारी उहाँले गराउनुभयो ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।