काठमाडौँ । हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब २ बजे चितवनबाट जनकपुर जाँदै गरेको ना. ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा दुर्घटना भएको हो । दुर्घटनामा ४९ जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्धार गरी हेटौंडा अस्पातल र चुरेहिल अस्पाताल पठाइएको छ ।
घाइतेमध्ये २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएर सडबाट तल खसेको प्रहरीले जनाएको छ । उक्त स्थानमा सडक निर्माणको काम भइरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान प्रहरीको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको र चालक सम्पर्कमा नरहेको प्रहरीले बताएको छ ।