१६ जेठ, काठमाडौँ । प्रदेश १ पुन नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ ।
आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो भने २६ जना अझै प्रहरी हिरासतमा नै रहेका छन् । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता तत्काल रिहाइको माग गरेको छ । यदि माग सम्बोधन नभए बुधबारबाट अनिश्चितकालीन आमहडताल गर्ने चेतावनी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकाका अनुसार प्रहरी नियन्त्रणमा रहेका २६ जनालाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइसकेको छैन । पक्राउ परेकाहरुलाई के गर्ने भन्ने निर्णय आज हुने प्रहरीले बताएको छ ।

