काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने बताउनु भएको छ । सिंहदरबारमा आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने स्पष्ट पार्नुभयो ।
‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन,’ उहाँले भन्नु भयो । एमालेका नेताहरू पनि यो प्रकरणमा तानिएको विषयमा सोधिएको प्रश्नमा ओलीले भन्नुभयो, ‘यो तानिएको हो कि तनाएको हो, हामी अध्ययन गर्दैछौं । अध्ययन गरेपछि हामी निष्कर्षसाथ अघि बढ्छौं।’
अध्यक्ष ओलीले निर्दोषलाई फसाउन खोजिएमा पार्टीले नसहने पनि बताउनु भएको छ । उहाँले यो प्रकरणमा एमालेले छानबिनमा सहयोग गर्ने स्पष्ट पार्नुभयो। ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। दोषीलाई फसाउन खोजियो भने हामी सहन्नौं,’ ओलीले भन्नु भयो ।
प्रहरीले हिजोमात्रै एमालेका सचिव टोपबहादुर रायामाझीलाई पक्राउ पुर्जी जारी गरेको छ । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभमा रकम असुलेको आरोपमा प्रहरीले उहाालाई खोजिरहेको छ ।