काठमाडौं । लगातारको झरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ । लगातारको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले बताएको हो । प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन नसकेको र अन्तर्राष्ट्रिय उडानका केही विमानहरु अकासमै होल्ड भइरहेका छन् ।
श्रीलंकाको कोलम्बोबाट काठमाडौं आएको श्रीलंकन एयरलाइन्सको जहाज आधा घन्टादेखि अकासमा होल्ड भएको छ । मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयरको जहाज पनि अहिले सिमरामाथिको अकासमा होल्ड भएको जानकारीमा आएको छ । प्रतिकूल मौसमकै कारण आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ । वर्षाकै कारण शनिबार दिउँसोदेखि राती अबेरसम्म हवाई उडान प्रभावित भएका थिए ।
यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानका साथै कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले उपत्यकामा वर्षा भइरहेको छ ।