काठमाडौं । काठमाडौंको कपनमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्माको संलग्नता रहेको पुष्टि भएको छ । प्रहरीले विश्वकर्मालाई झापाबाटै पक्राउ गरेर काठमाडौं ल्याइरहेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार निराको हत्यामा विश्वकर्माको संलग्नता पुष्टि हुने बलियो प्रमाण फेला परेको हो । एक प्रहरी अधिकारीले भन्नु भयो, ‘घटनामा विनोदको संलग्नता रहेको निष्कर्षमा हामी पुगेका छौँ । मृतकबाट लुटिएका सुनका गहना उसले बालाजुकाे सुन पसलमा बेचेकाे रहेछ ।’
हत्यापछि गहना बेचेका विनाेद झापामा लुकेर बस्नु भएको थियो । उहाँ ठमेलकाे एक नाइट क्लबका बाउन्सर रहेकाे खुलेकाे छ । ७ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो । उहाँले सरस्वतीनगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आउनु भएको थियो । दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उहाँको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो ।