काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताउनु भएको छ । शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले उहाँलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताउनु भएको हो ।
‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनु पर्छ,’ किरातीले भन्नु भयो । त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको मन्त्री किरातीले बताउनु भयो । ‘देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौं,’ उहाँले भन्नु भयो ।
मन्त्री किरातीले गणतन्त्र नेपालमा राणाकालीन कानुन बोकेर हिड्नपरेको पनि बताउनु भयो । एउटा सामान्य व्यवसाय दर्ता गर्न दर्जनौं मन्त्रालय र विभागका सैयौं टेबलमा पुग्नुपर्ने अवस्था रहेको बताउँदै त्यसलाई अन्त्य गरिनुपर्ने बताउनु भयो । विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम र पैसामा चाबी लगाएर मरूभूमिमा श्रम गर्न पठाउने मुलुकको नीतिमा नै खोट रहेको उहाँले बताउनु भयो ।