काठमाडौँ । वैदेशिक रोजगारीका लागि युरोपलगायत देशमा पठाइदिन्छु भन्दै ९१ जनासँग कम्तीमा २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने कनेक्टिएयर वर्ड कन्सल्टेन्सीका मुख्य दुई सञ्चालक फरार हुनु भएको छ । कन्सल्टेन्सीका व्यवस्थापकसहित तीन कर्मचारी भने पक्राउ पर्नु भएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार कन्सल्टेन्सीका मुख्य सञ्चालक अजित तामाङ र सागर तामाङ फरार हुनुहुन्छ । व्यवस्थापक कलादेवी सुवेदी, कर्मचारीद्वय सजना राई र सबु श्रेष्ठ पक्राउ पर्नु भएको छ । कन्सल्टेन्सीले युरोपको पोर्चुगल, माल्टा, रोमानिया, क्रोएसियालगायत देशमा पठाइदिन्छु भन्दै रकम उठाउने गरेको थियो । त्यसमध्ये ९१ जनाले आफूहरू ठगिएको भन्दै विभागमा उजुरी दिएका छन् ।
कन्सल्टेन्सीले पीडितबाट प्रतिव्यक्ति ६० हजारदेखि १२ लाख रुपैयाँसम्म असुल गरेको विभागले बताएको छ । विभागले उनीहरूविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार ठगी मुद्दा चलाउने तयारी गरिरहेको छ । ऐनअनुसार इजाजत नदिई वैदेशिक रोजगारीमा पठाउन नपाइने व्यवस्था रहेको छ ।