विराटनगर । सुनकोसीमा ९ वर्ष बित्दासम्म २ वटा मोटरेबल पुल निर्माण अलपत्र परेको छ । यी पुल ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण बन्न नसकेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका र भोजपुरको आमचोक गाउँपालिकालाई जोड्ने रानीटार पुल र उदयपुरको त्रियुगा नगरपालिका र खोटाङको बराह पोखरी गाउँपालिकालाई जोड्ने धाप्लाङघाट पुल निर्माणका लागि २०७३ साल असार ३० गते ठेक्का सम्झौता भएको थियो ।
दुवै पुलको ठेक्का रसुवा-एसएनएस पप्पु जेभीले पाएको छ । ५० करोड १४ लाख ६० हजार रूपैयाँ लागतमा निर्माण सक्ने गरी सम्झौता भएपछि २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै पुलको शिलान्यास गरेका थिए । २०७६ साल असार २९ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा अहिलेसम्म ५५ प्रतिशतमात्रै काम भएको छ । निर्माण कम्पनीका साइट इन्जिनियर हरि ज्ञवालीले दुवै पुल २ सय मिटर लम्बाइको रहेको बताए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ र निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्रमा असर परे पनि आफूहरू निर्धारित समयभित्र गुणस्तरीय ढङ्गले काम सम्पन्न गर्ने तयारीमा रहेको कम्पनीको जिकिर छ । पटक-पटक म्याद थपेर काम लम्ब्याउने प्रवृत्ति अन्त्य गर्न स्थानीयले माग गरेका छन् । अब थपिएको म्यादमा गुणस्तरीय रूपमा निर्माण सक्न उनीहरूले नियामक निकायको ध्यानाकर्षण गराएका छन् ।
पुल नबनेका कारण भोजपुर र खोटाङ तल्लो भेगका बासिन्दाको तराईसँगको सहज पहुँचबाट वञ्चित छन् । स्थानीय व्यवसायी तथा किसानलाई दैनिक उपभोग्य सामग्री ढुवानीदेखि कृषि उत्पादन बजारसम्म पुर्याउन समस्या भइरहेको चौदण्डीगढी नगरपालिका-१ का स्थानीय पदम कटवालले न्युज एक्सप्रेससंग गुनासो पोखे। बताए। पुल निर्माण सम्पन्न भए भोजपुरका आमचोक, हतुवागढी, रामप्रसादराई र टेम्केमैयुङ गाउँपालिका तथा खोटाङका बराह पोखरी, जन्तेढुंगा र खोटेहाङ गाउँपालिका सीधै तराईसँग जोडिनेछन् ।

