विश्वभर मार्च ११ मा मनाइने विश्व प्लम्बिङ दिवस यस वर्ष नेपालमा पहिलो पटक औपचारिक रूपमा मनाइएको छ। नेपाल प्लम्बिङ संघको आयोजनामा भएको कार्यक्रममा प्लम्बिङ व्यवसायी, प्राविधिक तथा पानी र सरसफाइ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको स्वागत नेपाल प्लम्बिङ संघका उपाध्यक्ष भवानीस्वर रञ्जितकारले गर्नुभएको थियो। दिवसको अवसरमा ललितपुरमा ५ किलोमिटर शान्ति पदयात्रा आयोजना गरिएको थियो। पदयात्रा बिहान ७:३० बजे लगनखेल बसपार्कबाट सुरु भई कुमारिपाटी, मानभवन हुँदै जावलाखेल वीरेन्द्र चोकसम्म पुगेको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूले ब्यानर प्रदर्शन तथा जनचेतनामूलक पर्चा वितरण गर्दै सुरक्षित पानी, सरसफाइ तथा व्यावसायिक प्लम्बिङ प्रणालीको महत्वबारे जानकारी दिएका थिए।| यस अवसरमा आयोजित कार्यक्रममा प्लम्बिङ मापदण्ड, दक्ष जनशक्ति विकास तथा आधुनिक प्लम्बिङ प्रणालीको आवश्यकताबारे पनि विशेषज्ञहरूले आफ्नो धारणा राखेका थिए।
कार्यक्रमको समापन नेपाल प्लम्बिङ संघका संस्थापक अध्यक्ष दिपक सुनुवारले गर्नुभएको थियो। नेपालमा पहिलो पटक मनाइएको विश्व प्लम्बिङ दिवसले प्लम्बिङ पेशाको सम्मान, प्राविधिक सीप विकास तथा सुरक्षित पानी र सरसफाइ प्रणाली प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिएको आयोजकहरूले बताएका छन्।

