युनाइटेड बिल्डर्सका कोअर्डिनेटर पूर्णलाल हिराचनलाई जिल्ला प्रहरी कार्यालय, बाराले ठगी, आपराधिक लाभ, आपराधिक विश्वासघात मुद्दामा पक्राउ गरी कारबाही अघि बढाएको छ ।
जिप्रका, बाराले जनाए अनुसार हिराचनलाई पहिलोपटक पाँच दिनको न्यायिक थुनामा र अहिले दुई दिनको न्यायिक थुनामा राखेर अनुसन्धान गर्दैछ । निज हिराचन कोअर्डिनेटर रहेका युनाइटेड बिल्डर्स, शर्मा कन्स्ट्रक्शनका रमेश शर्मा र विभा कन्स्ट्रक्शन जेभीका उत्तम बस्नेतसमेतले बाराको जीतपुरसिमरा उपमहानगर अन्तर्गत गढीमाई मन्दिरदेखि सिमरा चोकसम्मको व्यापारिक राजमार्ग अन्तर्गत छ लेन सडकको ठेक्का लिएका थिए । उनीहरूले सो ठेक्का पेटी कन्ट्याक्टमा स्व. राकेशभक्त पौडेललाई दिएका थिए ।
पौडेलको गत २०७९ वैशाखमा हत्या भएपछि पेटी कन्ट्याक्ट अन्तर्गतको सम्झौता अनुसार स्व. पौडेललाई दिनुपर्ने रकम नदिएर सम्झौताविपरीत नबिल बैंकमा खाता खोल्नुपर्नेमा सो नगरी एनएमबी बैंकमा खाता खोलेर व्यापारिक राजमार्गको कार्यालयबाट आएको भुक्तानी एक्लैले पचाएका थिए ।
स्व. पौडेलकी पत्नी सावित्री कँडेल पौडेलले जिप्रका, बारामा यसबारे उजुरी गरेपछि युनाइटेड बिल्डर्सका कोअर्डिनेटर हिराचन र उनका लेखापाल सुजन राईबाहेक घटनाका अन्य आरोपीहरू सकुन्तला हिराचन, रमेश शर्मा र उत्तम बस्नेतले अदालतबाट निषेधाज्ञा आदेश गराएका थिए ।
निषेधाज्ञा आदेश नलिएका राई हालसम्म फरार छन् भने हिराचनलाई छ दिनअघि बारा प्रहरीले पक्राउ गरेको थियो । अहिले कँडेलले उनीहरूबाट साँवा र ब्याज गरी साढे सात करोड रुपैयाँ माग दाबी गरेकी छन् ।

