पौष १९। भेनेजुएला सरकारले आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्नो भूभागमा अमेरिकाले गम्भीर सैन्य आक्रमण गरेको भन्दै त्यसको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ। राजधानी काराकासमा भएका हवाई हमलाहरू भेनेजुएलाको तेल र खनिज लगायतका रणनीतिक स्रोतहरू कब्जा गर्ने उद्देश्यले प्रेरित रहेको सरकारको दाबी छ।
राष्ट्रपति मादुरोले ‘बाह्य अशान्ति’ को अवस्थालाई मध्यनजर गर्दै राज्यको विशेष आदेशमा हस्ताक्षर गरी तत्काल लागू गर्न निर्देशन दिएका छन्। भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदायसमक्ष अमेरिकाको यस कदमलाई ‘अत्यन्त गम्भीर सैन्य आक्रामकता’ को संज्ञा दिँदै यसले राष्ट्रको राजनीतिक स्वतन्त्रतालाई जबरजस्ती तोड्न खोजेको आरोप लगाएको छ। राष्ट्रपतिले उपयुक्त समय र परिस्थितिमा सबै राष्ट्रिय रक्षा योजनाहरू कार्यान्वयन गर्न सेनालाई आदेश समेत दिएका छन्।
सरकारले देशका सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई परिचालन योजना सक्रिय बनाउन र यस ‘साम्राज्यवादी आक्रमण’ विरुद्ध एकजुट भएर प्रतिकार गर्न आह्वान गरेको छ। अमेरिकाले भेनेजुएलाको प्राकृतिक स्रोतमाथि आँखा गाडेर यो हमला गरेको मादुरो प्रशासनको ठम्याइ छ। अहिले भेनेजुएलाभर सुरक्षा सतर्कता उच्च पारिएको छ भने सरकारी विज्ञप्तिको थप विवरणहरू सार्वजनिक हुने क्रम जारी छ।

