पौष १६ संखुवासभा। विदेश पठाइदिने नाममा सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुली गरेर बेपत्ता हुने ठगी धन्दा दिनानुदिन मौलाउँदै जाँदा पनि सरकार भने मुकदर्शक बनिरहेको छ। यस्तै एक गम्भीर ठगीको शिकार बनेका छन् संखुवासभा चैनपुर नगरपालिका–९, त्रिशुलीका सरोज कार्की। नेपालगन्ज घर भएका अशोक मगरले हाल दुबईमा काम गर्दै आएका कार्कीकी श्रीमतीलाई विदेश पठाइदिने सर्तमा दुई लाख रुपैयाँ लिएको तर करिब दुई वर्ष बितिसक्दा पनि न विदेश पठाएको, न त पैसा फिर्ता गरेको पीडित कार्कीले बताएका छन्।


नेपाल एक्सप्रेस टिभीको सम्पर्कमा आएका कार्कीका अनुसार मगरले “आज पठाइदिन्छु, भोलि प्रक्रिया मिल्छ” भन्दै पटक–पटक झुक्याउँदै आएको छ। पैसा फिर्ता माग्दा पनि आज दिन्छु, भोलि दिन्छु भन्दै समय टार्ने बाहेक कुनै ठोस काम नगरेको उनको आरोप छ।कार्कीका अनुसार हालसम्म अशोक मगर सम्पर्कमै रहे पनि, दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि रकम फिर्ता नहुँदा परिवार मानसिक तनावमा परेको छ। परिवारको भविष्यका लागि खाडी मुलुकमा दिनरात पसिना बगाइरहेका कार्कीका लागि यो ठगी केवल आर्थिक पिडा मात्र नभई भावनात्मक पीडा पनि बनेको उनले बताए। यो कुनै एक जनाको मात्र कथा होइन। पछिल्लो समय नेपालमा विदेश पठाइदिने प्रलोभनमा ठगी गर्ने गिरोहहरू सक्रिय बन्दै गएका छन्। दलालहरूले गरिब, मजदुर र वैदेशिक रोजगारीमा रहेका युवाको मजबुरीलाई हतियार बनाएर लाखौँ रुपैयाँ उठाउने र पछि बेवास्ता गर्ने क्रम बढ्दो छ।
पिडित सरोज कार्की

सबैभन्दा चिन्ताजनक पक्ष के छ भने, यसरी खुलेआम भइरहेको ठगीबारे सरकार जानकार हुँदाहुँदै पनि प्रभावकारी कारबाही नहुनु । सम्बन्धित निकायको लापरबाहीकै कारण ठगहरू हौसिँदै गएका छन् भने इमानदार नागरिक पीडित बन्न बाध्य छन्। खाडी मुलुकमा रहेर रगत–पसिना बगाउने युवाको कमाइ नेपालमै बसेका ठगहरूको पेट भर्ने साधन बनेको छ। यसले कयौँ परिवार बिचल्लीमा परेका छन्, सपना चकनाचुर भएका छन्। अब पनि राज्य मौन बसिरहने हो भने यस्ता ठगीका घटना झनै बढ्ने निश्चित छ। पीडितको माग स्पष्ट छ—ठगमाथि कडा कारबाही होस्, पीडितको रकम सुरक्षित फिर्ता होस्, र सरकार अब निद्राबाट ब्युँझियोस्।

