पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन परेको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालले राष्ट्रपति कार्यालयमा बिहीबार उक्त निवेदन दायर गरेका हुन् ।
‘नेपालको संविधानको धारा ६१ को उपधारा (१), (२), (३) र (४) बमोजिम अविलम्ब सुशीला कार्की सरकार खारेज गरी संसद्बाट विश्वासप्राप्त जननिर्वाचित केपी शर्मा ओलीको सरकारलाई पूर्ववत् पुनर्नियुक्ति गर्नुहुन हार्दिक अनुरोध गर्दछु,’ सिलवालले दिएको निवेदनमा उल्लेख छ ।
सडकबाट गठित असंवैधानिक कार्की सरकार खारेज गरी संसद्को विश्वास नगुमाएका जननिर्वाचित ओली नेतृत्वको सरकार पूर्ववत् बहाल गरी संविधान अनुसार मुलुक अघि बढाउनुपर्ने उनको माग छ ।
देश भयानक राजनीतिक तथा सशस्त्र द्वन्द्वमा फस्न गई मुलुक यमन, सिरिया र नाइजेरियाको जस्तो खतरनाक मोडमा पुगिनैसकेको उनको भनाइ छ ।
नागरिकको जीउ, धन र सम्पत्तिको सुरक्षा गरी मुलुकको स्वतन्त्रता, स्वाधीनता, सुरक्षा, नागरिकको सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानव अधिकार एवं मौलिक हकको रक्षा गर्न र संविधान अनुकूल कानूनी राज्य स्थापना गर्न ओली नेतृत्वको पूर्ववर्ती सरकार स्थापना हुनुपर्ने उनको माग छ ।


