राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा सुरु हुँदैछ।
बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभागका पदाधिकारी, प्रदेश समितिका पदाधिकारी र सचिवालय सदस्य, प्रदेश विभागका प्रमुख, जिल्ला सभापति, निर्वाचन क्षेत्र समिति संयोजक, अधिवेशन भएका पालिकाका प्रमुखहरु सहभागी हुने प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा कार्यवहाक सभापति डिपी अर्यालले राजनीतिक, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको अवस्था र गतिविधिबारे प्रतिवेदन र उपसभापति श्वर्णिम वाग्लेले निर्वाचन केन्द्रीत बाचापत्र प्रस्तुत गर्ने उनले बताए।
बैठकमा देशभरबाट ५ सय १२ जना प्रतिनिधि सहभागी हुने केन्द्रीय सदस्य हरि ढकालले जानकारी दिए।
पार्टीको आधार इलाका भएकाले विस्तारित बैठकका लागि चितवनलाई छानिएको उनले बताए।
बैठकको खर्च व्यवस्थापन गर्नका लागि रास्वपाले प्रतिनिधिहरुबाट १५ सय रुपैयाँका दरले शुल्क लिन लागेको छ।
खानाको लागि क्याट्रिङ, बासका लागि सौराहाका होटलहरुमा आफ्नै खर्चमा बस्ने गरि व्यवस्थापन गरिएको जिल्ला अध्यक्ष कृष्णप्रसाद भुसालले जानकारी दिए।





