काठमाडौं । खाद्य स्वच्छतामा लापरबाही गरेको भन्दै ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गराइएको छ ।
काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही गरेको भेटेपछि सात दिनका लागि बन्द गराएको हो ।
हेल्दी बाइट्स सर्भिसेज् प्रालिले सञ्चालन गरिरहेको अस्पतालको क्यान्टिनमा खाद्य रङ्गको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, किटनाशक नियन्त्रणको काम असन्तोषजनक, लेबल वितरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको पाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
अनुगमन टोलीका खाद्य विशेषज्ञ अनिल बस्नेत र अशोक पराजुलीका अनुसार क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको भेटिएपछि सात बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।
अनुगमनको क्रममा म्याद गुज्रिएको ५०० मिलिलिटर दूध क्यान्टिन सञ्चालककै उपस्थितिमा नष्ट गरिएको छ । महानगरपालिका र विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनको अनुगमन गरेको थियो ।

