काठमाडौं। सरकारले ल्याएको बजेटमाथि छलफलको क्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदन अवरोध जारी राखेको भन्दै एमालेका सांसद गोकुल बास्कोटाले कटाक्ष गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै सदनमा निरन्तर वेल घेराउ गरेपछि सांसद बास्कोटाले यस्तो कटाक्ष गरेका हुन् ।
यद्यपि,रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारबीच सभामुखले संसदको कारबाही अघि बढाएका थिए ।
बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो । उनीहरूले सरकारलाई आफूले पनि आलोचना नगरिकन र अरूबाट हुन सक्ने मौका समेत बन्द गरी दिएर हुनसम्म सजिलो बनाई दिए । बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला । जे होस् देउसी लय मिलेको छ ।’