काठमाडौं। बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक सुचारु हुन सकेको छैन । राष्ट्रिय स्ततन्त्र पार्टी रास्वपा,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग संसदको गतिरोध अन्त्यका लागि सभामुखले छलफल गरेका छन्।
सभामुखसँगको छलफलपछि अहिले रास्वपा आन्तरिक छलफलमा छ । रास्वपाले केही समय पर्खिन भनेकाले बैठक सुचारु हुन ढिलाइ भएको संसद सचिवालयले जनाएको छ ।
सभामुखले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग-अलग छलफल गरेका थिए ।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको, अवरोधको स्वरुप बदल्न आग्रह गरेका थिए । सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण पनि गराए ।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाए ।
सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गरेका थिए ।
अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरे ।