काठमाडौं। प्रतिनिधिसभाको आजका लागि बोलाइएको बैठक विपक्षी दलहरूको दबाबका कारण बस्नै नपाई स्थगित भएको छ । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि विपक्षी दलहरूले राजीनामाको अडान कडाइका साथ राखेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो।
आज बिहान ११ बजेका लागि निर्धारित बैठक सुरु हुन नपाउँदै दिउँसो २ बजेसम्मका लागि सारिएको थियो। तर, विपक्षीहरूको निरन्तर दबाब कायमै रहेपछि बैठक अन्ततः भोलि १ बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।
त्यसैगरी, प्रधानमन्त्रीले संसदमा उपस्थित भएर छानबिन आयोग गठनबारे स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने माग पनि विपक्षीहरूको रहँदै आएको छ।
तर ती मागहरूमध्येमा सत्तापक्ष केहीबेर अघि मात्रै छानबिन समिति बनाउने प्रस्तावमा सहमत भएपनि गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको सदन उपस्थिति जस्ता विषयमा अझै सहमति जुट्न नसकेपछि आजको बैठक स्थगन गरिएको हो ।