काठमाडौँ ।तुलसीपुर उपमहानगरपालिकाको गाडीले ठक्कर दिँदा दाङमा चार वर्षिया बालिकासहित दुईजना घाइते भएका छन् । सो गाडी उपमहानगरकी अधिकृत रेवा रावतले चलाएकी थिइन् ।
तुलसीपुर-६ सुकौरा रोडको पानी टयाङ्की नजिकै तुलसीपुर उपमहानगरपालिकाको रा १ झ १४२ नम्बरको गाडीले प्र.२००१ प १६७९ नम्वरको स्कुटरलाई आज बिहान ९:२० बजे ठक्कर दिएको इप्रका तुलसीपुरका प्रवक्ता इन्सपेक्टर सुर्य रानाले जानकारी दिए ।
रानाका अनुसार ठक्करबाट स्कुटी चालक तुलसीपुर-५ का ४२ वर्षीय शंकर रेग्मी र उनकी नातिनी ४ वर्षकी प्रिन्स बुढाथोकी घाइते भएका हुन् । शंकरको खुट्टामा र प्रिन्सको टाउको, छाती, मुख र निधारमा चोट लागेको छ । घाइते दुवैको उपचार राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
उपमहानगरको यान्त्रिक शाखा प्रमुख रावत दुर्घटना हुने वित्तिकै रावत घटनास्थलबाट भागेकी थिइन् । घटनालाई ट्वीस्ट गरेर चालकले नै गाडी चलाएको बनाउन खोजिए पनि स्थानीयले विरोध गरे । उनीहरुले रावतले गाडी चलाएको देखेका थिए ।
स्थानीयको विरोधपछि प्रहरीले रावतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रावतसँग गाडी लाइसेन्ससमेत छैन । उनले चालकलाई साथमै राखेर गाडी सिक्न लागेको बेला दुर्घटना भएको बुझिएको छ । सरकारी गाडी दुरूपयोग गरी कर्मचारीले दुर्घटना बनाएपछि व्यापक आलोचना भएको छ ।