काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले संसद्मा बोल्न नपाएको गुनासो फेसबुकमा गरेकी छन् ।
आज बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । तर सभामुख देवराज घिमिरेले आफूले समय नदिएको र सभामुखबाट समय नपाइ बोल्न नपाइने भनी उनलाई बस्न आग्रह गरेका थिए ।
उनले फेसबुकमा लेखेकी छन्, ‘नियमावली अनुसार संसद्मा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ । प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ । मैले दुवै प्रक्रियामार्फत आकस्मिक समय माग गरेँ । तर दिइएन ।’
संसद्मा पछिल्लो समय भइराखेको बहसप्रति समेत उनले प्रश्न उठाएकी छन् । ‘संसद्मा बोल्नुपर्ने कुरा के हो रु सहकारी र सुनमात्र हो रु एकअर्कामाथि छेडखानी मात्र रु’ उनको प्रश्न छ ।
काठमाडौंका वीर अस्पताल, पाटन, कान्ति, टिचिङलगायत अस्पतालमा आमनागरिकले आइसीयू पाएका छैनन् । जसको कारण बिरामीहरूले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उनले यही विषय संसद्मा बोल्न खोजेको बताएकी छन् । उनी लेख्छिन्, ‘‘अस्पतालमा आईसीयू पाइएन भन्दै आम नागरिकको रोदन छ । बिरामीहरूले ज्यान गुमाउनुपरेको छ । परिवारमा पर्ने दुःख भनिनसक्नु छ तर केही अस्पतालका आईसीयू खाली छन् । यसबारेमा संसद्मा बोल्न समय पाइँदैन ।’
आईसीयू नपाएका बिरामीहरूको बिजोग रहेको र स्थिति दिनानुदिन गम्भीर हुँदै गएको उल्लेख गर्दै उनले समाधानका बारेमा संसद्ले निर्देशन दिन आवश्यक रहेको बताएकी छन् ।
‘केही दिनअघि र आज निरन्तर आकस्मिक समय माग गरिरहँदा पनि पाइएन’ उनले लेखेकी छन्, ‘दिनदिनै डरलाग्दो भइरहेको यो स्थितिको गाम्भीर्यता र आकस्मिकताको मनन् नभएकोमा दुःख लाग्यो ।’