काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ ।
सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने सरकारले तयारी गरेको हो ।
बज्राचार्य एक वर्षभन्दा अगाडिदेखि सीआईबीको प्रमुख छिन् । आयोगले सुन तस्करीको अनुसन्धानबाट सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।
बज्राचार्यलाई ब्यूरोबाट हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गृह मन्त्रालयको छ ।
ब्यूरोले सुनकाण्डका आरोपी जीवन चलाउनेलाई कार्यालयमा हाजिर गराएर पनि कागज मात्र गराएर छाडेको आयोगले फेला पारेको छ । कतिपय सरकारी कर्मचारी र पूर्वसभामुख कृष्णबहादुर महरा लगायतलाई जोगाएको आरोप पनि सीआईबीमाथि छ ।