काठमाडाैं । इजरायली सेनाले गाजापट्टीमा गरिरहेको आक्रमणका कारण अहिलेसम्म २७ जना प्यालेस्टाइनीको मृत्यु भइसकेको अल जजीराले खबर दिएको छ । मृत्यु हुनेमध्ये धेरैजसो महिला र बालबालिका छन् । ७६ जनाभन्दा बढी घाइते भएका छन् र तीमध्ये अधिकांशलाई गम्भीर चोटपटक लागेको छ ।
आफूहरूले इस्लामिक जिहाद नामक समूहका कमान्डरलाई लक्षित गरी हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । अली गाली नामक ती कमान्डर एउटा अपार्टमेन्टमा लुकेर बसेको र उक्त समूहका अन्य दुई लडाकू पनि उनीसँगै रहेको बेलामा मारिएको इजरायली सेनाको भनाइ छ ।
गालीले हालैका महिनामा इजरायलमा रकेट आक्रमण गराएको बताइन्छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टीभीमार्फत सम्बोधन गर्दै लडाकूहरूमाथि कठोर कारवाही गरिएको बताए । आक्रमणको यो चरण अझै नसकिएको उनको भनाइ छ ।