काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न क्वालिफायर २ अन्तरगतको खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेको हो ।
सुदूरपश्चिमले अब उपाधिका लागि लुम्बिनी लायन्ससँग शनिबार फाइनल खेल्नेछ । १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।
सुदूरपश्चिमले चौथो ओभरमा पहिलो विकेट गुमायो । यसअघि आफ्नो पहिलो खेलमा गोल्डेन डक भएका जर्ज मन्सेले योपटक पनि गतिलो ब्याटिङ गर्न सकेनन् । उनी १५ बलमा ८ रनमात्रै बनाएर पभेलियन फर्किए ।
उनलाई चितवनका रिजन ढकालले आउट पारे । सर्वाधिक विकेट लिने सूचीमा अग्रस्थानमा रहेका ढकालको यो १७ औं विकेट हो ।
सुदूरपश्चिमले ४.४ ओभरमा दोस्रो विकेट गुमायो । आक्रामक ब्याटिङ गरिरहेका ओपनर विनोद भण्डारी १३ बलमा २३ रन जोडेर आउट भए । उनलाई रन्जित कुमारले आउट पारे ।
तेसो बलमा छ्क्का दिएका रन्जितले चौथो बलमा कमब्याक गर्दै भण्डारीलाई आउट पारे ।
सुदूरपश्चिमले पावरप्लेमा २ विकेट गुमाएर ४१ रन बनायो ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका स्कट कुगलेइनले ४ बलमा २ रनमात्रै बनाए । बलिङमा शानदार प्रदर्शन गरेका कुगलेइन ब्याटिङमा भने चल्न सकेनन् ।
सुदूरपश्चिमले ६.४ ओभरमा तेस्रो विकेट गुमायो । चौथोमा ब्याटिङमा आएका ईशान पाण्डेले ९ बलमा १० रनमात्रै बनाए । उनलाई रन्जित कुमारले आउट पारे ।
त्यसपछि पाँचौ नम्बरमा कप्तान दीपेन्द्र सिंह ऐरी ब्याटिङमा आए । १० ओभरको समाप्तिमा सुदूरपश्चिमले ४ विकेट गुमाएर ५८ रन जोड्यो । उसलाई जितका लागि ६० बलमा ७६ रन आवश्यक थियो ।
१२.३ ओभरमा कप्तान ऐरी १६ बलमा १५ रन जोडेर आउट भए । त्यसपछि सुदूरपश्चिम थप दबाबमा आयो ।
१५.५ औं ओभरमा सुदूरपश्चिमलाई छैटौं झट्का लाग्यो । आरिफ शेख १० बलमा १० रन जोडेर आउट भए । थरिन्दु रत्नायकेले एक छेउबाट सुदूरपश्चिमको इनिङ्स सम्हाले । उनले म्याच विनिङ पारी खेल्दै । उनले नटआउट ४९ रनको योगदान दिए ।
बलिङतर्फ चितवनका रन्जित कुमारले दुई तथा सलहुद्दिन खान, उसामा मीर, कमल सिंह ऐरी र रिजन ढकालले एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन जोड्यो ।
पहिलो ओभरमा आक्रामक ब्याटिङ गर्दै ११ रन जोडेको चितवनले १.३ ओभरमा पहिलो विकेट गुमायो । यसअघि काठमान्डुविरुद्ध शतक बनाएका कामिल मिशारा ४ रनमै आउट हुन पुगे । उनलाई सुदूरपश्चिमका स्क्ट कुगलेइनले पभेलियन पठाए ।
चितवनले तेस्रो ओभरमा दुवै ओपनरलाई गुमायो । देव खनाल पनि सस्तैमा ९ बलमा ६ रनमा आउट भए । उनलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आउट पारे ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका डेविड मलानले एक छेउबाट चितवनको इनिङ्स सम्हाले ।
चितवनले ५.४ ओभरमा तेस्रो विकेट गुमायो । कप्तान रवि बोपारा ८ बलमा १ रनमात्रै जोडेर आउट हुन पुगे । हेमन्त धामीले उनलाई आउट पारे ।
चितवनले पावरप्लेमा ३ विकेट गुमाएर ३२ रन बनायो ।
त्यसपछि ब्याटिङमा आएका विवेक यादवले ११ बलमा ३ रनमात्रै बनाए । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले ५ बलमा १ रनमात्रै बनाउँदै पभेलियन फर्किए । जारी सिजनमा खराब लयमा रहेका मल्लले आज पनि उही निरन्तरता दिए ।
चितवनलाई ११.३ ओभरमा छैटौं झट्का लाग्यो । उसामा मीर ५ बलमा २ रनमात्रै बनाएर आउट भए । त्यसपछि सलाहुद्दिन खान ब्याटिङमा आए । उनले १५ बलमा १८ रन जोडे ।
डेविड मलानले ३९ बलमा अर्धशतक बनाउँदै चितवनलाई अगाडि बढाए । उनले अन्तिमसम्म शानदार ब्याटिङ गर्दै नटआउट ७१ रनको योगदान दिए ।
कमल सिंह ऐरीले ७ बलमा १० रन बनाउँदै आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले तीन तथा थरिन्दु रत्नायकेले दुई विकेट लिए । दीपेन्द्र सिंह ऐरी, ईशान पाण्डे र हेमन्त धामीले एक एक विकेट लिए ।



