काठमाडौँ । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी)लाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको हो। हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।
उनी आज बिहान खुम्बु आइसफल क्षेत्रमा हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका खोजीमा खटिएको पेम्बा शेर्पाले जानकारी दिए । दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा सम्पर्कविहीन भएका थिए । दावा यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए । खुम्बु आइसफल क्षेत्रमा हराएको एक सातापछि जिवित भेटिएको यो घटनालाई चमत्कारको रुपमा हेरिएको छ ।

