काठमाडौँ । पूर्वी अफ्रिकी राष्ट्र केन्यामा इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टसँग भेट्ने चाहनाका कारण सयौँ व्यक्तिहरूले सामूहिक देहत्याग गरेपछि यो विषय विश्वव्यापी बनेको छ । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै त्यहाँको प्रहरीले त्यहाँका पादरीहरूलाई गिरफ्तार गरिसकेको छ । स्थानीय प्रहरीका अनुसार हिजो शनिबारसम्म सामूहिक देहत्याग गर्नेमध्ये २०१ जनाको शव भेटिएको छ । हिजो थप २२ जनाको शव भेटिएको थियो ।
केन्याको दक्षिण–पश्चिम क्षेत्रमा रहेको शाकाहोला जंगलमा अझै शवहरू खोज्ने क्रम जारी छ । प्रहरी अधिकारी रोडाह ओनयाचनाका अनुसार अझै ६ सय व्यक्तिहरू बेपत्ता रहेका छन् । पल मकेन्जी नामक एक चर्चका पादरीले जिसससँग भेट्नका लागि भोकभोकै बस्नुपर्छ भनेर प्रवचन दिएपछि सयौँ मानिसहरूले भोकभोकै देहत्याग गरेको प्रहरीले बताएका छन् ।
शवहरूको पोस्टमार्टम गर्दा धेरैजसो भोकका कारण मरेको र केहीको घाँटी थिची हत्या गरेको देखिएको पाइएको छ । गत महिना मुख्य अभियुक्त ठहर पादरी पल मकेन्जी पक्राउ परिसकेका छन् । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले आतंकवादसम्बन्धी मुद्दा लगाउने योजना बनाएको छ । तटीय क्षेत्र किलिफीमा मकेन्जीले ८ सय एकडको जमिनमा इसाई धर्म र जिसस क्राइस्टबारे प्रवचन दिन्थे । सो क्षेत्रमा मृत व्यक्तिहरूलाई गाडेको अवस्थामा भेटिएको हो ।