काठमाडौं । अहिले आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले देखाएको छ । १ देखि ३० वैशाखसम्म देशभर ५२७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेको प्राधिरकरणले बताएको हो ।
प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने ६५ जना घाइते भएका छन् । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका र एक महिनामा आगलागी र वन डढेलोका ६२१ घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणले बताएको छ । आगो तथा डढेलो लागेको देख्नेबित्तिकै पूर्वतयारीबिना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिममा पर्ने भएकाले आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायबिना त्यस्तो ठाउँमा नजान पनि आग्रह गरेको छ ।
यसैगरी जंगलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिने भएकाले सोको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।
सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठुटा जथाभावी नफाल्न, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि प्राधिकरणको समुदायलाई आग्रह छ ।