काठमाडौँ । संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । सरकारले संघीय शिक्षा ऐन जारी गर्न ढिलाइ गरेपछि उनीहरूले खबरदारी गरेका हुन् । शिक्षामा कूल बजेटको कम्तीमा २० प्रतिशत लगानी गरिनुपर्ने माग उनीहरूको छ ।
यस्तै विद्यालय कर्मचारीले उठाएका माग पूरा गर्न पनि उनीहरूले सरकारलाई आग्रह गरेका छन् । बालशिक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता दिनुपर्ने, संघीय शिक्षा ऐन अबिलम्ब जारी गर्नुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्नेजस्ता माग राखेर उनीहरूले प्रदर्शनसमेत गरेका हुन् । ६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गर्नसमेत सरकारसँग उनीहरूको माग छ । साथै नेपाल शिक्षक महासंघसँग यसअघि भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन्।