काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसी सैनिकहरूलाई पछि हटाउनका लागि गरिने प्रत्याक्रमण कारवाही तत्कालै शुरू नगरिने बताएका छन् । बिहीवार बीबीसीसँगको अन्तर्वार्तामा जेलेन्स्कीले तत्कालै प्रत्याक्रमण थाल्दा धेरै सैनिक हताहत हुने जोखिम रहेको बताए ।
‘अहिले हामीसँग भएको शक्तिले हामी अघि बढ्न सक्छौं र सफल पनि हुनेछौं,’ जेलेन्स्कीले बताए, ‘तर हामीले धेरै सैनिक गुमाउनेछौं । त्यो अस्वीकार्य छ ।’रुसले युक्रेनमाथि आक्रमण गरी युद्ध थालेको १४ महिनाभन्दा बढी समय बितिसकेको छ । त्यसको प्रत्याक्रमणका लागि युक्रेनले चलाउने भनिएको कारवाही हप्तौंअघिदेखि हल्ला गरिएको भए पनि शुरू गरिएको छैन ।
युक्रेनले त्यही प्रत्याक्रमणका लागि पश्चिमका आधुनिक हतियार तथा आफ्ना सैनिकलाई पश्चिमले दिने तालिम प्राप्त गरिरहेको छ । रुसी सैनिकहरू युक्रेनको पूर्वी क्षेत्रमा जमेर बसेका छन् । त्यहाँ उनीहरूले विभिन्न तहमा प्रतिरक्षात्मक पंक्ति बनाएका छन् । युक्रेनीहरूले प्रत्याक्रमण थाल्दा सुरुङबम, ट्यांकनिरोधी खाल्डा र अन्य अवरोधको सामना गर्नुपर्नेछ ।