काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो । खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा प्राकृतिमा छाडिएको छ । राप्ती नदीको खोरसोर घाटबाट सीतामाई घाटसम्म अण्डा सङ्कलन गरिएको हो ।
गोही प्रजनन केन्द्रमा ती अण्डा ल्याएर बालुवाभित्र चल्ला कोरल्नका लागि राखिएको छ । जेठ १५ पछि साउनसम्म ती अण्डाबाट बच्चा कोरल्ने गरिन्छ । प्रजनन केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ । गत दुई वर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएका छैनन् । प्रजनन केन्द्रमा दुई वटा भाले रहेका छन् । भालेमा समस्या भएका कारण अण्डाबाट बच्चा नकोरलिएको अनुमान गरिएको छ ।
प्रजनन केन्द्रमा गोहीको सङ्ख्या बढी भएपछि यस वर्ष अण्डा थोरै मात्र सङ्कलन गरिएको हो । गत वर्ष पाँच सय ६३ वटा अण्डा सङ्कलन गरिएको थियो । ती अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए । यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ । हालसम्म आइपुग्दा तीमध्ये तीन सय हाराहारी मात्रै जीवित छन् ।
राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ । प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार एक सय ३२ वटा गोही नदीमा छाडिएको छ । यस्तै नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ ।