काठमाडाैं । सन् २०२२ मा शुरू भएको रुस–युक्रेन द्वन्द्वका कारण युक्रेनी सर्वसाधारणले अनेकौं समस्या बेहोर्नुपरेको छ । कम्तीमा ७० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भएको बताइएको छ । अनि लाखौं मानिस युक्रेन छोडेर पलायन पनि भइसकेका छन् ।
युक्रेनी उपप्रधानमन्त्री इरिना वेरेश्चुकले रुसी आक्रमणका कारण लाखौं युक्रेनीहरूलाई खान बस्न नै संकट परेको बताइन् । युद्धप्रभावित क्षेत्रबाट एक लाख १८ हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको युक्रेनको सरकारी समाचार संस्थाले खबर दिएको छ ।
एक वर्षको अवधिमा रुसी आक्रमणका कारण युक्रेनको १३८ अर्ब डलर बराबरको पूर्वाधार नष्ट भएको छ । किएभ स्कूल अफ इकोनोमिक्सका अनुसार, डिसेम्बर २०२२ सम्म रुसी आक्रमणका कारण एक लाख ४९ हजार ३०० आवासीय भवन पूरै नष्ट वा आंशिक क्षतिग्रस्त भएका छन् । त्यस्तै तीन हजारभन्दा बढी शिक्षण संस्था र ११ सयभन्दा बढी अस्पताल ध्वस्त भएका छन् ।