काठमाडौँ । नेपाल वायु सेवा निगम (एनएसी) ले प्रस्ताव गरेको तीन वटा जहाज किन्ने प्रक्रिया अघि बढको छ । जहाज खरिदका लागि निगमले गत चैत २९ गते जहाज खरिद सम्भावना अध्ययन उपसमिति गठन गरेको थियो । उक्त समितिले २१ दिन लगाएर तयार गरेको प्रतिवेदन वायुसेवा सञ्चालक समितिलाई बुझाएको छ । योसँगै निगमले जहाज खरिदको थप प्रक्रिया अघि बढाएको हो ।
वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा ९ सदस्यीय जहाज उपसमिति गठन गरेको हो । उक्त समितिले २१ दिनभित्र थप अध्ययन गरी बोर्डमा प्रतिवेदन पेस गर्नेछ । यसपछि भने जहाज खरिद प्रक्रियाले औपचारिकता पाउने भएको छ ।
यी जहाजहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रूपले खरिद गरिने वायुसेवा निगमले जनाएको छ । जहाज खरिद पश्चात् अन्तर्देशीय पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास समेत रहेको निगमको भनाई छ ।