जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत विभिन्न सडकखण्ड बनेर यातायात सञ्चालन भइरहेका छन् । तर हुलाकी सडक योजना कार्यालय, जनकपुरधाम मातहत पर्ने १८ वटा पुलको ठेक्का प्रक्रिया अगाडि बढ्न नसक्दा त्यस क्षेत्रमा यातायात सञ्चालन तथा आर्थिक गतिविधि नै प्रभावित बनेको छ ।हुलाकी सडक योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार करिब तीन करोड रुपैयाँ लागत अनुमानसहित १८ वटै पुलको विवरण अर्थ मन्त्रालयमा पटक–पटक पठाइएपनि हालसम्म बजेट स्वीकृति नहुँदा ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन ।
‘हामीले तीन वर्षदेखि आवश्यक सबै कागजात, प्राविधिक विवरण र स्रोत सुनिश्चित गरेर पठाउँदै आएका छौँ,’ प्रमुख महतोले भने, ‘तर सम्बन्धित मन्त्रालयबाट आवश्यक बजेट र स्वीकृति नआउँदा आयोजना अलपत्र अवस्थामा पुगेको छ ।‘
कार्यालयका अनुसार ठेक्का लाग्न बाँकी रहेका पुलहरूमा कमला–बलान सडकखण्डको मैनावती पुल, जनकपुरधाम–कदमचौक–कमला सडकमा पर्ने जोगियारा नदी पुल, बाछाराजा नदी पुल र गरदनिया चोक पुल छन् । यस्तै यदुकुहा–खजुरी–महुवा सडकमा पर्ने सरावे आमा हण्डा पुल, जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने पर्सा बिग्घी खोला पुल, रातसखोला पुल, जलेश्वर–हार्डी सडकमा जंघा खोला पुल, मरहा खोला पुल तथा गेरूका नदी पुल पनि ठेक्का नलागी रोकिएका छन् ।त्यसैगरी जनकपुरधाम–बलवा–पोखरभिण्ड–संग्रामपुर सडकखण्डमा पर्ने जंघा खोला र बिघी खोला पुल, शीतलपुर–मलंगवा खरैयाटोल सडकमा पुरानो लखनदेही पुल र गदहिया पुल, नयाँरोड–बरहया–मधुवनी सडकमा हरकठुवा पुल र धनकौल पुल तथा गोडैता–महिनाथपुर–च्युटाहा–हनैया सडकमा पर्ने एकादशी पुलको ठेक्का प्रक्रिया सुरु भएको छैन ।
हुलाकी राजमार्गका २२ वटा पुल निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ भने २१ वटा पुल निर्माणकै चरणमा छन् । पुल निर्माणले अपेक्षित गति लिन नसक्दा स्थानीयवासीले सडक कालोपत्र भएपनि वर्षायाममा खोलानाला पार गर्न कठिनाइ भोग्नुपरेको छ ।
स्थानीय बासिन्दाका अनुसार पुल नबन्दा वर्षायाममा बाढी आउँदा गाउँहरू टापुजस्तै बन्ने गरेका छन् । किसानले उत्पादन बजारसम्म पुर्याउन पाउँदैनन् भने विद्यालय, स्वास्थ्य संस्था र बजार आवतजावतमा समेत समस्या देखिन्छ । ‘सडक बने पनि पुल नहुँदा त्यो सडकको कुनै अर्थ छैन,’ स्थानीय रामपुकार महतोले भने, ‘हामीले वर्षौंदेखि पुलको आशा गर्दै आएका छौँ ।‘
हुलाकी सडक आयोजना जनकपुरखण्डको कुल ४०३ किलोमिटर सडकमध्ये हाल ६१ किलोमिटर खण्ड मात्रै कालोपत्र गर्न बाँकी छ । आयोजनाका अनुसार बाँकी खण्डमा काम तीव्र गतिमा भइरहेको र कुनै अवरोध नआए चालु आर्थिक वर्षको अन्त्यसम्म एक चरणमा सम्पन्न गर्ने लक्ष्य छ । योजना कार्यालयअन्तर्गत पूर्वपश्चिम तथा उत्तरदक्षिण गरी कुल ४०३ दशमलव ६८ किलोमिटर सडकको जिम्मेवारी छ । त्यसमध्ये २९९ दशमलव ८० किलोमिटर सडक नेपाल सरकारको बजेटबाट निर्माण भएको हो भने १०३ दशमलव ८८ किलोमिटर सडक भारतीय अनुदानमा निर्माण गरिएको छ । हालसम्म ३४२ दशमलव ६८ किलोमिटर सडक कालोपत्र भइसकेको योजना प्रमुख महतोले जानकारी दिए ।
हुलाकी सडक तथा निर्माणाधीन पुलहरू सम्पन्न गर्न चालु आर्थिक वर्षमा करिब डेढ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । तर सरकारले ५९ करोड ९० लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेकाले कामले गति लिन नसकेको कार्यालयको भनाइ छ । सडक र पुल समयमै निर्माण नहुनुको मुख्य कारण बजेट अभाव भएको प्रमुख महतोले बताए । ‘सरकारले आवश्यक बजेट समयमै उपलब्ध नगराउँदा योजना ढिलाइ भइरहेको छ,’ उनले भने, ‘बजेट सुनिश्चित भएमा बाँकी पुल र सडक छिट्टै सम्पन्न गर्न सकिन्छ ।‘
हुलाकी राजमार्गलाई तराई–मधेस क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा लिइएको छ । यस आयोजनाले सीमावर्ती क्षेत्रको विकास, कृषि उत्पादनको बजार पहुँच र क्षेत्रीय व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । तर बजेट अभाव र प्रशासनिक ढिलासुस्तीका कारण आयोजना निर्धारित समयमै सम्पन्न हुन नसक्दा सरकारको विकास प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको छ ।

