सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः प्रहरीकै नाममा कायम रहने निर्णय गरेसँगै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह, सिंगो मन्त्रीपरिषद् र यसका लागि बिगत लामो समयदेखि पहल गर्दै आएका अवकासप्राप्त प्रहरी अधिकृतहरुलाई धन्यवाद ज्ञापन गरेका छन । यसअघि २०७५ भदौ १ गते उक्त जग्गा राष्ट्रपति कार्यालयको नाममा रहने गरी निर्णय गरिएको थियो ।
तर, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको निरन्तर प्रयासपछि उक्त निर्णय पुनरावलोकन भई जग्गा पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै नाममा कायम गरिएको हो । फेसबुकमार्फत आईजीपी कार्कीले यस निर्णयलाई नेपाल प्रहरी संगठनका लागि ऐतिहासिक उपलब्धि भएको र यसले नेपाल प्रहरीको संस्थागत सुदृढिकरण, दीर्घकालिन भौतिक पूर्वाधार विकास र व्यवसायिक दक्षता अभिवृद्धिमा दुरगामी सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताएका छन ।
साथै, आगामी दिनहरुमा समेत नेपाल प्रहरीको क्षमता अभिवृद्धि एवं प्रभावकारी सेवा प्रवाहका लागि नेपाल सरकारबाट निरन्तर अभिभावकत्व प्राप्त हुने अपेक्षा समेत व्यक्त गरेका छन ।

