चैत्र १,काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशको राजनीति र सामाजिक जनजीवनलाई स्तब्ध बनाएको थियो । २३ गते भ्रष्टाचार, नातावाद तथा सामाजिक सञ्जाल प्रतिबन्ध लगायत विरुद्ध स्वतःस्फुर्त भएको आन्दोलन भएको थियो । आन्दोलनमा भएको सरकारको दमनपछि भोलिपल्ट अर्थात् भदौ २४ गते सिंहदरबारसहित देशभरका संरचनाहरुमा आगजनी र तोडफोड भएको थियो ।
तर त्यसको सत्यतथ्य अझै पनि राज्यले सार्वजनिक नगरेको भन्दै आक्रोश बढ्दै गएको छ । उक्त घटनाको छानबिन गर्न गठित ‘गौरीबहादुर कार्की जाँचबुझ आयोग’ले आफ्नो प्रतिवेदन बुझाएको साता नाघिसक्दा पनि सार्वजनिक नभएपछि ‘जेनजी’हरू आन्दोलित भएका छन् ।
जेनजीहरूले सामाजिक सञ्जालदेखि सडकसम्म दबाबमूलक आन्दोलन थालेका छन् । सामाजिक सञ्जालमा ‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै ह्यासट्याग अभियान चलाइरहेका उनीहरुले आइतबार माइतीघर मण्डलामा उत्रिएर सरकारलाई खबरदारी गरे ।
माइतीघर मण्डलामा भेला भएका युवाहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
आइतबारको प्रदर्शनमा सहभागी युवाहरूले ब्यानर, प्लेकार्ड र नाराबाजी मार्फत सरकारलाई प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न दबाब दिएका छन् । असोज ५ मा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २४ मा सरकारलाई प्रतिवेदन बुझाइसकेको भएपनि सरकारले यसलाई ‘गोप्य’ राख्नुले शंका उब्जाएको अभियन्ताहरूको ठहर छ ।
जेनजी आन्दोलनमा सक्रिय रहेका युवाहरूले यसलाई एउटा प्रतिवेदनको माग मात्र नभएर लोकतन्त्रमा नागरिकको सुसूचित हुन पाउने अधिकारको लडाइँ भनेका छन् । तीन महिनाको कार्यादेश पाएको आयोगले पटक–पटक म्याद थप गरेर तयार पारेको दस्तावेजमा भदौ २३ को दमन र २४ गतेको तोडफोड तथा आगजनीका मुख्य योजनाकार र दोषीहरूको नाम समावेश भएको विश्वास गरिएको छ ।

