पौष २३ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग तारन्तार संवादमा रहेको खुलेको छ । स्रोतहरूको दाबी अनुसार उनी राप्रपा छोडेर रास्वपामा जान इच्छुक छन् । शाहीले हालै राप्रपाको समानुपातिक सूचीलाई लिएर सामाजिक सञ्जालमा कडा असन्तुष्टि पोखेका थिए । उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी सरस्वती लामा र युवा नेतृ खुस्बु ओलीलाई बन्दसूचीमा पहिलो प्राथमिकतामा राखिएकोप्रति उनको विरोध थियो । तर, शाहीले राप्रपा त्याग्न खोज्नुका कारण सम्भवतः यो मात्रै होइन । स्रोतका अनुसार पछिल्लो समय उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग नाखुश छन् । राप्रपामा आएदेखि नै निरन्तर लिङदेनलाई साथ र समर्थन दिँदै आएका शाही अहिले बिच्किनुको कारण खुलेको छैन । उनी राप्रपाको संस्थापन इतर पक्षसँग पनि नजिक भएका छैनन् । पार्टीभित्र र बाहिर उनको आफ्नै ‘ब्रान्ड’ छ । समाजको एउटा तप्कामा उनी असाध्यै लोकप्रिय पनि छन् ।
शाहीले आफूसँग निकट रास्वपाका उच्चस्तरकै नेताहरूसँग ‘एकता’ का विषयमा छलफल गरिरहेको स्रोतहरू बताउँछन् । उनीसँग कुरा गरेका एक रास्वपा नेताले भने, ‘सैद्धान्तिक र पदीय विषयमा कुराकानी भइरहेको छ । उहाँ राजसंस्थाको एजेन्डा छोडेर आउन तयार देखिनुहुन्छ ।’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र शाहीबीच केही दिनअघि भेटवार्ता भएको थियो । रास्वपा सभापति रवि लामिछानेसँग गरेको पहिलो वार्ता खासै फलदायी नभएको भन्दै बालेनले आफ्नै पार्टी चलाउने प्रचार गराएका थिए । त्यसबेला उनले सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा बसेर थुप्रै मान्छेहरू भेटे । त्यसमध्ये एक शाही पनि थिए । बालेन र शाहीबीच लामै कुराकानी भएको थियो । राजसंस्थाका पक्षधर शाहीलाई बालेनले बोलाएर भेट्नुलाई पनि आश्चर्यका रूपमा हेरियो । उक्त भेटवार्ताको अन्तर्य दुवैले बाहिर ल्याएनन् । त्यस भेटमा ‘युवाहरु मिलेर अघि बढ्नुपर्ने’ सहमति जुटेको थियो । स्रोतका अनुसार बालेनले पार्टी खोलेमा सहयोग गर्ने शाहीले आश्वासन दिएका थिए । आफू रास्वपासँग मिलेमा शाहीलाई पनि सँगै लैजान बालेन सहमत बनेको दाबी स्रोतको छ । तर, रास्वपासँग एकता गर्दा बालेनले शाहीलाई वास्ता गरेनन् । शाहीनिकट स्रोतले भन्यो, ‘रास्वपासँग एकता हुने भयो भने सँगै जाने भन्ने अन्डरस्ट्यान्डिङ बनेको रहेछ । तर, बालेन गणतन्त्रवादी र पहिचानवादीहरूको घेराउमा परेपछि उहाँलाई समेट्न चाहेनन् ।’
शाहीको रास्वपा सभापति रवि लामिछानेसँग व्यक्तिगत स्तरमा राम्रो सम्बन्ध छ । रवि कास्की प्रहरीको हिरासतमा रहँदा नै उनी भेट्न पुगेका थिए । उनले रविको पक्षमा सार्वजनिकरुपमा बयान पनि दिए । केहीअघि मात्रै उनले नख्खु कारागारमा गएर पनि रविलाई भेटेका थिए । रवि गृहमन्त्री हुँदा पञ्चा सिंहलाई पक्राउ नगरेको विषयमा उनीविरुद्ध बोले पनि त्यसयता भने शाही रविप्रति नरम सुनिँदै आएका छन् । रास्वपा उपसभापति डा। स्वर्णिम वाग्लेसँग भने शाहीको सम्बन्ध राम्रो छैन । शाहीले वाग्लेलाई ‘विदेशी दलाल, ‘एमसीसीका मतियार’ आदि उपमा दिएर कटु आलोचना गर्ने गरेका थिए । वाग्लेले भने शाहीलाई मान्छे नै गन्दैनन् । रास्वपा सभापति लामिछाने र उपसभापति डीपी अर्याल नरम गणतन्त्रवादी हुन् भने वाग्ले कडा गणतन्त्रवादी हुन् । यदि शाहीलाई रास्वपामा भित्र्याउने प्रस्ताव पार्टीमा आएमा वाग्लेले अवरोध गर्न सक्ने सम्भावना रहेको पनि स्रोत औंल्याउँछ ।
शाहीलाई रास्वपामा ल्याउन यसै पनि सहज छैन । बालेन र कुलमानसँग एकतापछि पार्टीमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतावादीहरुको आवाज चर्को बनिरहेको छ । त्यसमाथि लक्ष्मण थारुहरू थपिएका छन् । यो जमातले ज्ञानेन्द्र शाहीलाई पटक्कै रुचाउँदैन । पार्टी सभापति रवि लामिछाने तयार भए भने पनि यसले पार्टीभित्र भाँडभैलो उत्पन्न गर्न सक्ने रास्वपाका एक नेताको अनुमान छ ।
राप्रपाको संस्थापन इतरका एक नेताले शाहीको यो प्रवृत्तिलाई अवसरवादको संज्ञा दिए । उनले भने, ‘उहाँले हिजोका दिनसम्म निरन्तर अध्यक्षलाई बोकेर हिँड्नुभएको हो । अहिले केमा कुरा मिलेन र गाली गर्दै हुनुहुन्छ । रास्वपा जान खोज्नु भनेको चाहिँ उहाँको सैद्धान्तिक विचलन मात्र नभएर अवसरवादको पराकाष्ठा हो ।’
शाही सामाजिक अभियन्ताका रूपमा भाइरल भएपछि राप्रपामा प्रवेश गरेका हुन् । उनी विगतमा आफूलाई गणतन्त्रवादी र सर्वहारा कम्युनिष्टका रूपमा चिनाउने गर्थे । हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक रहेका शाही २०७८ साल फागुनमा राप्रपा प्रवेश गरेका हुन् । उनले जुम्लाबाट अत्यधिक मतले चुनाव जितेका थिए । राप्रपाले उनलाई पार्टी प्रवक्ता र संसदमा प्रमुख सचेतक बनाएकाे थियाे ।

