काठमाडौं । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । सोमबार कार्यकारी अध्यक्ष झाले सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
झा २०७९ असार ७ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । उनले ०७९ असार १२ गतेदेखि कार्यभार ग्रहण गरेका थिए ।
कार्यकारी अध्यक्ष झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् ।
सरकारको निर्णयबमोजिम आफू राससको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको उल्लेख गर्दै झाले कार्यकालमा आफूले संस्थाको सवोत्तम हितमा काम गरेको बताएका छन् ।
‘म उक्त पदमा नियुक्त भएपछिका दिनमा मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्य–मान्यताको अनुशरण गर्दै राससको सर्वोत्तम हित प्रवद्र्धनका दिशामा कृयाशील रहँदै आएको छु,’ राजीनामा पत्रमा उनले भनेका छन् ।
झाले देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गरेको उल्लेख गर्दै भनेका छन्, ‘नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्यसञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु ।’
आफूले नैतिकताको दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानेर पदबाट राजीनामा गरेको बताएका छन् ।

