माघ ९,रुपन्देही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सबैभन्दा पहिले उम्मेदवार निश्चित भएका पात्र हुन्- डा. लेखजंग थापा । यसअघि उपनिर्वाचनको तयारी हुँदा ‘प्राइमरी इलेक्सन’ (प्रारम्भिक निर्वाचन) मार्फत छानिएका थापालाई नै पार्टीले निरन्तरता दिएपछि उनको उम्मेदवारी पक्का भएको थियो । तर, यस क्षेत्रमा पार्टीको जग बसालेका र २०७९ सालको निर्वाचनमा रास्वपाकै उम्मेदवार रहेका जितबहादुर (जेबी) गुप्ताले ‘बागी’ उम्मेदवारी दिएपछि डा. थापाका लागि चुनौती थपिएको छ ।
२०७९ सालको निर्वाचनमा रास्वपाबाट ५,७९६ मत प्राप्त गरेका गुप्ताले यसपटक पार्टीले डा. थापालाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पार्टी कमजोर अवस्थामा रहँदा आफूले साख जोगाएको तर सङ्गठन बनिसकेपछि नेतृत्वले पाखा लगाएको भन्दै उनले आक्रोश पोखेका छन् । उनले भनेका छन्, “सङ्गठन नभएको समयमा एक्लै मैदानमा खटिएर काम गरियो । जसले बीउ रोप्यो, उसैलाई मरुभूमिमा पुर्याइयो । पैसा र पहुँच नहुँदा मलाई पत्याइएन, अब जनताको अदालतबाट न्याय खोज्नेछु ।”
रास्वपा नेताहरूका अनुसार गुप्तालाई यसअघि नै अनुशासनको कारबाहीस्वरूप निलम्बन गरिएको र सोही कारण टिकट दिन नसकिने जानकारी पहिल्यै गराइएको थियो । उनी उम्मेदवारी फिर्ता लिने सम्भावना न्यून रहेको नेताहरूको बुझाइ छ । रास्वपा रुपन्देहीका सभापति बुद्धि शर्माले स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई फिर्ता गराउने पहल भइरहेको र शुक्रबारसम्म नतिजा आउने बताए ।

