नेपालमा २०१५ सालदेखि नै संसदीय चुनाव शुरु भए पनि राजनीतिक पार्टीहरूले उम्मेदवार छनोटको व्यवस्थित प्रणाली बसाल्न नसकिरहेका बेला रास्वपाले नयाँ मानक बनाउन खोजेको छ ।
विभिन्न समयका संवैधानिक व्यवस्था, अनि त्यस अनुसारका निर्वाचन ऐनहरूका साथ तत्–तत् दलहरूका विधानहरूले उम्मेदवार छनोटबारे औपचारिक किसिमका मान्यताहरू बनाए पनि लागू गर्नेबारे अस्पष्टता र विवाद समेत विगतमा उत्पन्न भएका थिए । अझ अघिल्लो चुनावमा एउटा दलबाट सांसद बनेको व्यक्ति अर्को चुनावमा दल बदलेर अर्को दलको उम्मेदवार बनेको दृष्टान्त समेत देखिएको थियो ।
निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार अयोग्य हुने निश्चित मापदण्डहरू उल्लेख गरिएको छ । ऐनमा उल्लेख भए अनुसार तीनै तहका सरकारको स्वामित्व वा अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन अयोग्य हुनेछ ।
त्यसका अतिरिक्त सजाय पाएर दुई वर्ष भुक्तान नगरेको, कुनै कसूरमा जन्मकैदको फैसला तोकिएको व्यक्ति, सङ्गठित अपराध सम्बन्धी कसूरमा कैद बसेर छुटेको ६ वर्ष पूरा नभएको लगायत उम्मेदवार नहुने व्यवस्था छ ।
छुवाछूत, बोक्साबोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजायको भुक्तान गरेर रिहा भएको तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन पाउँदैन । निर्वाचन आयोगले यही आधार बनाएर उम्मेदवारको नाम दर्ता गर्छ ।
तर, मुख्य दलहरूले आफ्नो उम्मेदवार छनोट गर्दा पार्टी सदस्यतालाई प्राथमिकतामा राखेका हुन्छन् । छनोटको विधि पार्टीको तल्लो संरचनाबाट नाम सिफारिश गरे अनुसार छनोट गर्दछन् । कतिपय उम्मेदवार केन्द्रको ठाडो निर्देशनमा चयन गरिएको हुन्छ ।
संसद्को चौथो शक्ति रास्वपाले उम्मेदवार छनोटका लागि पुराना दलहरूले अवलम्बन गरेको विधि भन्दा पृथक् शैली अपनाउन लागेको हो ।
हालसम्म कुनै पनि दलले कार्यकर्ताको छनोटको आधारमा उम्मेदवार चयन गर्ने पद्धति बसालेका छैनन् । प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि रास्वपाले गत चुनावमा बनाए पनि शतप्रतिशत लागू हुन भने सकेन ।
कात्तिकमा हुने उपनिर्वाचनलाई मध्यनजर राखेर रास्वपाले परिष्कृत विधि बनाएको छ । संघीय निर्वाचनको उम्मेदवारका लागि फरक मानक तय गरेको छ । सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा उम्मेदवार छनोटको विधि बनाइएको छ । उनले बनाएको मस्यौदालाई सचिवालय र केन्द्रीय सदस्यमा छलफल गरेर प्राप्त सुझावहरू समेटेर विधिलाई थप परिष्कृत गरिएको आचार्यले जानकारी गराए ।
हाल बनाइएको विधि संघको उम्मेदवार चयन गर्ने प्रक्रियामा मात्रै लागू हुनेछ । उक्त विधि अनुसार उम्मेदवार छान्ने अधिकार कार्यकर्तामा बढी हुने गरी तय गरिएको छ । उम्मेदवार हुनका लागि अंकभार निर्धारण गरेर छनोट हुने विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको ५०, लिडरसिप एकेडेमीको नतिजाबाट २५, पोलिटिकल प्रोक्सिमिटीबाट २०, र समावेशितालाई ५ प्रतिशत तोकेर उम्मेदवार छनोट गरिने भएको छ ।
सहमहामन्त्री आचार्यका अनुसार उम्मेदवार छनोटको विधि हरसम्भव वैज्ञानिक बनाउन प्रयास गरिएको छ । ‘यो विधिबाट सबल र उत्कृष्ट उम्मेदवार छान्न सकिन्छ भनेर विधि तय गरेका हौं’ आचार्यले बताएका छन्।
प्रारम्भिक मतदानका लागि पनि तीन तरिकाबाट अंकभार पूरा हुने गरी विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको मतभार ५० प्रतिशत पूरा गर्ने क्रममा ८० प्रतिशत स्थानीय पार्टी सदस्यले मतदानलाई आधार बनाइएको छ । प्रारम्भिक मतदानबाट उम्मेदवार हुनेका लागि १० प्रतिशत मतभार त्यस क्षेत्रका संरचनामा रहेकाले मत दिन पाउने छन् ।
थप १० प्रतिशत केन्द्रीय सदस्यको मतभारलाई गणना गरिने गरी विधि बनाइएको छ । रास्वपाको विधान अनुसार क्षेत्रका कुल मतदाताको ०.१ प्रतिशत पार्टी सदस्य रहेको स्थानमा प्राइमरी इलेक्सन हुने व्यवस्था छ । प्राइमरी इलेक्सन हुन नसक्ने अवस्थामा उम्मेदवार छनोटको टुंगो केन्द्रीय समितिले गर्ने विधानको प्रावधान छ ।
सहमहामन्त्री आचार्यका अनुसार प्राइमरी इलेक्सनका लागि आवश्यक हुने सदस्य संख्या अधिकांश क्षेत्रमा छन् । उनी भन्छन्, ‘दुई–चार वटा दूरदराजका ठाउँमा बाहेक प्राइमरी इलेक्सन गर्ने गरी सदस्य संख्या रहेको छ ।’
लिडरसिप एकेडेमी शुरु भइनसकेको हुँदा त्यसका लागि सचिवालयले निर्णय गर्ने भएको छ । रास्वपाको नीति अनुसार उम्मेदवार हुन चाहनेले अनिवार्य लिडरसिप एकेडेमीबाट आवद्ध भई प्रशिक्षित भएको हुनुपर्दछ । तर, पार्टीको उक्त संरचना भने भनिसकेको छैन ।
उम्मेदवार हुन इच्छुक व्यक्ति नागरिकसँग कति जोडिएको छ भनी मूल्यांकन समेत रास्वपाले गर्ने भएको छ । राजनीतिक चेत, सदाचार, नैतिकवान, शिक्षा तथा पेशागत अनुभव, नेतृत्वदायी अनुभव, भविष्य दृष्टि लगायतमा मूल्यांकन गरेर रास्वपाले उम्मेदवार छनोट गर्नेछ । पोलिटिकल प्रोक्सिमिटी अन्तर्गत पार्टी, सामाजिक–डेमोग्राफिक, लोकतान्त्रिक चरित्र लगायतमा पार्टीले हेर्नेछ । उम्मेदवार हुन चाहने व्यक्तिको पार्टीमा आवद्धता, निरन्तरता, कार्यसम्पादन, सक्रियता लगायत मापदण्ड बनाइएको छ ।
स्थानीय मुद्दा र समस्याप्रतिको बुझाइ, नागरिकसँगको सम्बन्ध, प्रतिष्ठा लगायतमा उम्मेदवार हुन चाहनेको लागि थप योग्यता हुनुपर्दछ । समाजसँगको लगाव, योगदान, लोकतन्त्रको मूल्यमान्यतामा अडिग भए/नभएको परीक्षण गरेर मात्रै उम्मेवार छनोट गरिने सहमहामन्त्री आचार्यले जानकारी दिए ।
आचार्य भन्छन्, ‘समाजमा पनि नेतृत्वदायी भूमिका उसले कस्तो देखाएको छ ? शिक्षा सहित व्यक्तिको समग्र अनुभव र योगदानको मूल्यांकन गरिन्छ । समाज, देशका लागि हुने लाभको मूल्यांकन गरेर मात्रै उम्मेदवार चयन गरिनेछ ।’
सम्बन्धित क्षेत्रबाट महिला, दलित, आदिवासी, जनजाति, थारू, मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र र अपाङ्गता भएर उम्मेदवार हुन चाहनेले थप ५ प्रतिशत अंकभार स्वत: प्राप्त गर्ने विधि बनाइएको छ । मानौं, रुपन्देही–३ मा महिला, दलित, आदिवासी, जनजाति, थारू, मुस्लिम, मधेशी र अपाङ्गताबाट कुनै उम्मेदवार हुन चाहे उक्त व्यक्तिले ५ प्रतिशत अंक स्वत: प्राप्त गर्नेछ ।
प्रारम्भिक मतदानको क्रममा पार्टी सदस्यले कुनै उम्मेदवारलाई मत दिन्न भन्ने विकल्प पनि राखिएको छ । प्रारम्भिक मतदानमा भाग लिएका उम्मेदवार भन्दा ‘कुनै पनि छनोट गर्दिनँ’ भन्ने पक्षमा मत बढी भयो भने नयाँ उम्मेदवार छान्नका लागि पुन: मतदान गर्ने व्यवस्था गरिएको छ । रास्वपाबाट समावेशिताको आधारमा उम्मेदवार बन्नका लागि थप सुविधा सहितको विधि बनाइएको छ ।
रूपन्देही–३ को निर्वाचनको उम्मेदवार छनोट गर्नका लागि योग्यताहरूको मापदण्ड बनाइएको छ । पार्टी सचिवालय हुँदै केन्द्रीय समितिबाट पारित निर्णय अनुसार उम्मेदवार हुन चाहनेले केन्द्रीय अनुशासन तथा आचरण समितिमा सम्पत्ति विवरण बुझाएको हुनुपर्नेछ । उम्मेदवारको प्रारम्भिक मतदानमा भाग लिनका लागि उम्मेदवारले प्रहरी रिपोर्ट समेत पेश गर्नुपर्नेछ । रास्वपामा उम्मेदवार हुन पार्टीका मूल्य–मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध हुनको साथै अन्य कुनै राजनीतिक दलसँग आबद्ध नरहेको पुष्टि गर्नुपर्नेछ । रास्वपाले तोकेका यी व्यवस्था कानूनले तोकेको भन्दा अतिरिक्त हुन् ।
संघको उम्मेदवार तय गर्दा बनाइएको विधि अन्य तहमा मेल नखाने हुँदा फरक प्रकृतिको पद्धति केन्द्रका लागि बनाइएको रास्वपाले जनाएको छ । संघीय उम्मेदवारका लागि बनाइएको विधि रूपन्देही–३ मा पहिलो परीक्षण हुनेछ । रूपन्देही–३ मा यो विधि अपनाउँदा आएका व्यवधान, प्रतिक्रिया, सहजता–असहजता लगायतको मूल्यांकन गरेर यसैलाई आधार बनाएर विधि थप परिमार्जित गरेर २०८४ सालमा लागू गरिने भएको छ ।
रास्वपाले हाल बनाइएको विधिलाई मौलिक भएको दाबी गरेको छ । आचार्य भन्छन्, ‘हाम्रो विवेकले नभ्याएका कुनै दुई–चार वटा मानकहरू छुटेका रहेछन् भने त्यसलाई समावेश गरिनेछ । थप परिष्कृत र बलियो बनाउनको लागि संविधान त संशोधन हुनसक्छ भने पार्टीको विधान संशोधन हुन नसक्ने हुँदैन । रास्वपाले त्यसलाई चिर्दै माथिबाट नेताको निर्देशनमा नभई भुइँतहबाट उम्मेदवार छानिंदै आउने विधि तय गर्न खोजेको छ ।
नेपालको चुनावी प्रणालीका लागि नयाँ अनुभूत हुने यो मानक भविष्यमा स्वयं रास्वपाकै हकमा कति लागू हुन्छ भन्ने चाहिं समयसँगै परीक्षित हुनेछ ।