काठमाडौं । दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ । बिहानैदेखि स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो लागेको छ ।
आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमालाई शान्ति मिल्ने जनविश्वास छ ।
सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । हरेक वर्ष आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउने प्रचलन छ ।










