‘ओ लेडिज ! सट योर डोर्स, बायरन इज कमिङ !’ लन्डनको साँघुरो गल्लीमा लर्ड बायरनको आगमनले झस्किएका महिलाहरूको स्वर।
‘सट योर डोर्स, बायरन इज कमिङ !’ यो कविको आगमनको संकेत होइन, एक यस्तो व्यक्तित्वको आगमन हो जसले युगको साहित्यिक जगतमा भूकम्प ल्याएको थियो। यहाँ सुनियो ‘सट योर डोर्स, बायरन इज कमिङ’ भन्ने यो वाक्य—यस वाक्यमा भय पनि छ र माया पनि। प्रेम पनि छ र घृणा पनि ।
‘लन्डनको साँघुरो गल्ली’ त्यहीँबाट सुरु हुन्छ लर्ड बायरनको जटिल, विरोधाभासपूर्ण र आकर्षक जीवनको उपन्यास।
बायरन एकै साथ प्रख्यात पनि र कुख्यात पनि थिए। उनका कविता यति शक्तिशाली थिए कि उनी अंग्रेजी साहित्यको शिखर कविको रूपमा स्थापित भए, तर उनको व्यक्तिगत जीवन यति विवादास्पद थियो कि समाजले उनलाई जहिले विवादमा तानिराख्यो। उनी ‘बाइसेक्सुअल’ थिएँ, ‘हाफ सिस्टर’ अगस्टासँग सम्बन्ध राखेका थिए भन्ने आरोप थियोँ, विवाहिता महिलाहरू उनीसँग सम्बन्ध गाँस्न आतुर थिएँ, र उनको ‘बायरनिक ग्लुम’— अनुहारको नादानीपनले महिलाहरूमा यस्तो मोह सिर्जना गर्थ्यो कि उनीहरू पुरुष भेषमा समेत उनलाई भेट्न लाइन लाग्थे।
बायरनको दाहिने खुट्टा जन्मजातै विकृत थियो। यस ‘क्लबफुट’ अवस्थालाई उनले कहिल्यै आफूमाथि हावी हुन दिएनन्, बरु उनी घोडामा चढेर पहाड हेर्थे, तैरिन्थे, साहसिक गतिविधिहरू मन पराउँथे— तर कुस्ती, दौड वा नाचजस्ता नाच्ने खेलप्रति घृणा गर्थे। उनले कमजोरीलाई आफ्नो सौन्दर्यको अंश बनाइदिए। उनको ‘ग्लुमी फेस’— गोरो र हलुका पहेँलो रङ मिसिएको अनुहारले गम्भीर र बढो नादान देखिन्थ्यो। धेरै महिलाहरू उनीप्रति आकर्षित हुन्थे।
सन् 1812 को मार्च 8 तारिख, लर्ड बायरन रातारात ‘अलमोस्ट अननोन’ बाट ‘सेलिब्रिटी’ बने। उनको ख्याति ‘चाइल्ड हेरोल्ड’ कविता संग्रहले एकाएक बढायो। २४ घण्टाभित्र ५०० प्रति बिक्री भयो, माग बढिरह्यो, र बायरन सांस्कृतिक नायकको रूपमा स्थापित भए। उनको सफलताको यो उचाइ आजको सेलिब्रिटी संस्कृतिमा पनि दुर्लभ छ।
त्यस दिनदेखि बेलायती समाजको एक वर्गले उनलाई पूज्य व्यक्तित्वको रूपमा हेर्न थाल्यो भने अर्को वर्गले उनीमाथि चारित्रिक प्रश्नहरू खडा गर्न थाल्यो। उनका बारेमा किंवदन्तीहरू फैलिन थाले, उनका कपडाको ढाँचा, कपालको शैली अनुकरण गरिन थाल्यो। उनले चर्चाको केन्द्रबिन्दु ओगट्न थाले; एकसाथ साहित्यिक र सामाजिक क्षेत्रमा उनी नामी व्यक्तित्वका रूपमा स्थापित भए।
बायरन केवल कवि मात्र होइनन्; एउटा युगको प्रतिनिधि पात्र थिए भन्दा फरक पर्दैन। तर उनको व्यक्तित्वमा रहेको विरोधाभास अद्भुत रूपमा दोहोरो थियो— उनी स्वभावले विद्रोही थिए तर आस्थाले कोमल, उनी स्त्रीप्रेमी थिए तर उनीभित्र समलैङ्गिक आकर्षण पनि थियो, उनी सबैको नायक थिए तर खलनायक पनि।
बायरनको जीवनमा सबभन्दा रहस्यमय र विवादास्पद सम्बन्धमध्ये एक थियो उनकी सगोत्री बहिनी ‘अगस्टा ली’सँगको सम्बन्ध। अगस्टा, बायरनका पिता क्याप्टेन जोन बायरनको पहिलो विवाहबाट जन्मेकी छोरी थिइन्। यसरी, आमा फरक भए पनि बाबु एउटै भएकाले बायरन र अगस्टा दाजु–बहिनी थिए। तर समयसँगै उनीहरूबीचको सम्बन्धले पारिवारिक सीमाभन्दा बाहिर निस्किएको र आन्तरिक साइनो अर्कै भएको अनुमान गर्न थालियो। सन् 1813 तिर बायरन र अगस्टाबीचको सम्बन्धले सामाजिक मर्यादाको नै खिल्ली उडाउन थाल्यो, जब अगस्टाले एक छोरी जन्माइन् ‘एलिजा मेडोरा ली’। ती बालिकाको बाबु बायरन नै हुन् भन्ने आरोप फैलियो, विशेषतः त्यस बालिकाको नाम ‘मेडोरा’ थियो, जुन नाम बायरनले आफ्ना काव्यका पात्रहरूमध्ये एकलाई दिएका थिए। यस्तो मिल्दोपनले सो सम्बन्ध झन् संकाको घेराभित्र पर्न गयो।
बायरन र अगस्टाबीचको पत्राचार अत्यन्त आत्मीय थियो। बायरन आफ्ना मनका भावनाहरू र व्यथाहरू अगस्टासँग बाँड्थे। बायरनकी पत्नी एनाबेला मिलबैंकले समेत यही कारण देखाउँदै बायरनसँग सम्बन्धविच्छेद गरिन्। अन्ततः सन् 1816 मा सामाजिक बदनामी, विवाहको विफलता र अगस्टासँगको विवादित सम्बन्धको त्रासले बायरनलाई इंग्ल्यान्डबाट टाढा पुर्यायो; उनी युरोपतिर लागे र कहिल्यै आफ्नो देश फर्किएनन्। अर्कातिर, अगस्टा भने जीवनभर चुपचाप रहिन्; उनले कहिल्यै सार्वजनिक रूपमा न त सम्बन्ध स्वीकार गरिन्, न त अस्वीकार।
बायरनलाई संसारका सबभन्दा राम्रा साहित्यकारहरूमध्ये एक मानिन्छ। अझ कोहीकोहीको दृष्टिमा त उनीभन्दा राम्रो कोही भएन भन्ने नै छ। उनको अनुहार अत्यन्त निर्दोष देखिन्थ्यो; दोष भनेको खुट्टैमा थियो। केही महिला भन्थे— ‘ही इज लभेबल, बट नट म्यारिजेबल।’
उनका असंख्य प्रशंसिकामध्ये एक थिइन्— लेडी क्यारोलिन ल्याम्ब। धनी राम्री युवती जो बायरनसँग भेट गर्न जाँदा यति लाज मानिन् कि बोल्नै सकिनन्; त्यसलाई फेरि बायरनले आफ्नो घोर अपमान ठानिरहे। तर केही समयपछि नै फेरि यति नजिक भए कि ती युवतीले एउटा रात आफ्नो डायरीमा लेखिन्, ‘बायरन वाज म्याड, ब्याड एन्ड डेन्जरस टु! द्याट ब्युटिफुल फेल–फेस इज माई फेट।’ यी विवाहिता नारी पछि बायरनसँग बस्न थालिन्। यस्ता घटना एक होइनन्, अनेक छन्।
बायरन एक जनालाई ‘भाइ’ भनेर सधैंजसो साथमा राख्थे,दिन होस् या रात, जहाँ गयो, उनलाई साथमै लिएर गएका पाइन्थ्यो। सुरुमा त्यो दृश्यमा खासै अप्ठ्यारो देखिँदैनथ्यो, तर केही समयपछि जब त्यो ‘भाइ’ गर्भवती भएको खबर फैलियो, तब सिंगो समाज चकित भयो। पछि खुलासा भयो बायरनले वास्तवमा एक युवतीलाई पुरुषको भेषमा ढालेर ‘भाइ’का रूपमा साथमा राखेका रहेछन्। यस्तो खुलासाले उनको यौनिक पहिचान र आचरणप्रति प्रश्न उठ्यो।
उनी द्विलैङ्गिक (bisexual) थिए— पुरुष र महिलासँगै सम्बन्ध राख्ने। विशेषतः उनी आफूभन्दा साना उमेरका युवकहरूप्रति आकर्षित हुने गर्थे, जुन प्रवृत्तिले त्यतिबेलाको सामाजिक दृष्टिमा अस्वीकृति बेहोर्नुपर्यो। उनको यस्तो व्यवहारका कारण थुप्रै महिलाहरू, जो पहिले उनीप्रति आकर्षित थिए, पछि सम्बन्धविच्छेद गर्दै टाढा भए।
उनका प्रेमिका र तिनका विछोडका कथा अनगिन्ती छन्। नौ वर्षको उमेर बाल्यकालको प्रारम्भिक चरण हो; त्यही नौ वर्षको उमेरमा बायरनले प्रेम र यौनको अलग–अलग अनुभव भइसकेका थिए।
एक पटक देश–विदेश घुम्ने क्रममा बायरन भेनिसको कुनै ठाउँमा बस्न पुगे। त्यहाँ एउटी विवाहिता युवती मेरिआना उनको हेरचाह गर्थिन्। क्रमशः बायरनको स्वभावअनुसार, मेरिआनाप्रति उनको आकर्षण बढ्न थाल्यो।
बायरनले आफ्नो बसाइ त्यहाँ लामो बनाए। २४ वर्षका बायरन मेरिआनाप्रति मोहित थिए। मेरिआना पनि राम्रै थिइन्। आश्चर्यको कुरा के थियो भने, मेरिआनाका व्यापारी पति त्यहीँ थिए। केही समय नबित्दै त्यस रहस्यको खुलासा भयो। बायरन मेरिआनासँग प्रत्येक दिन तीन पटक भेट्ने गर्थे।
सन् १९१५ मा बायरनले अन्नाबेला मिलब्लान्के नामकी केटीसँग विवाह गरे। उनीहरूले एउटी छोरी, अदालाई जन्माए। तर एक वर्ष नबित्दै अन्नाबेला टिक्न नसकी छोरी लिएर बायरनलाई छोडेर गइन्। उनले बायरनको स्वभाव र बानी असह्य भएको गुनासो गरिन्। तीमध्ये एक गम्भीर आरोप थियो कि बायरनले आफ्नी पत्नी अन्नाबेलासँग पनि ‘बाइसेक्सुअल’ व्यवहार गर्थे।
उनका धेरै घोषित र अघोषित प्रेमिका थिए, साथै केही प्रेमीहरू पनि। कतिपय ‘इल्लिजिटिमेट’ सन्तानहरू पनि थिए। तर उनका सबै सम्बन्धहरू प्रायः सहमतिका आधारमा थिए, बलजफ्तीका थिएनन्। बायरनले त्यसैले आफूलाई दोषी मान्दैनथे, र कुनैकुनै सम्बन्ध टुटेमा पछुतो समेत देखाइरहेका थिए।
तर जे भए पनि उनी असामाजिक र यौनिक विकृतिको हदसम्म पुगेका ‘बाइसेक्सुअल’ व्यक्ति भएकाले प्रशस्त बदनाम थिए। यो बदनामिको एउटा मुख्य कारण भने स्वयं बायरन नै थिए।
सबै चारित्रिक विरोधाभासहरू हुँदाहुँदै पनि बायरनलाई रोमान्टिक युगका महान् कवि मानिन्छ। उनको प्रभाव धेरै परवर्ती र समकालीन कविहरूमा देखिन्छ। बायरनको लेखन ‘एक्स टेम्पोर’ हुन्थ्यो; लेख्न थालेपछि उनले धाराप्रवाह र सहज रूपमा लेख्न सक्थे।
उनको व्यक्तित्वमा एक गजबको आकर्षण थियो, जुन उनको अद्वितीय प्रतिभाका कारण झन् विशिष्ट देखिन्थ्यो। उनीसँग एकचोटि कुरा गर्ने जो–कोही, विशेषगरी केटीहरू, लठ्ठ परेरै फर्कन्थे रे। मात्र केटीहरू होइनन्, महिला र पुरुष सबैजना नै उनको बोली, शैली र व्यक्तित्वमा मुग्ध हुन्थे। एकपटक बायरनकै प्रेममा परेकी एउटी केटीलाई अर्की केटीले सोधी रे, ‘बायरन त्यस्तो चरित्रहीन छ भन्ने थाहा हुँदाहुँदै पनि तँ किन फँसिस् त?’ केटीले भनिन्, ‘के गर्नु, जान त झगडै गर्न गएकी थिएँ, तर आफ्ना कुराले उसले मलाई लठ्ठ्याएर प्रेममा फसायो त।’ उच्च घरानाकी त्यो झगडा गर्न गएकी केटी,फर्कंदा प्रेमिका बनेर फर्केकी थिई रे। बायरनसँग कुरा गरेर फर्केपछि भनी— ‘आई वाज चाम्र्ड।’
बायरन सुरुमा केटीहरूसँग खासै खुल्दैनथे। तर एकपटक परिचय भएपछि उनी मुन्टो निहुराएर ती केटीलाई पुलुक्क हेर्थे, फेरि फेरि नजर झुकाउँथे। यस व्यवहारलाई उनी स्वयं ‘अन्डर लुक’ भन्थे। केटीहरूले उनको यही ‘अन्डर लुक’ लाई अत्यन्त मोहक मान्दथे रे। यस्ता थुप्रै कारणले उनका साथी, नातेदार र कतिपय महिलाहरू समेत भन्थे,‘बायरनको संगत रमाइलो त पक्कै हुन्छ, तर सुरक्षित चाहिँ हुँदैन।’
तर अरूलाई ‘असुरक्षित तर रमाइलोपन’ दिने बायरन स्वयं पनि असुरक्षा र एक्लोपनसँग बाँचेका थिए। यही खालीपन मेट्न उनी निरन्तर लेखिरहन्थे, अनि शरीर र सम्बन्धका नयाँ अध्यायहरू खोलिरहन्थे।
सन् १८२४ मा उनी एक सामान्य भनिएको ज्वरोले ग्रस्त भए। त्यो ज्वरो के थियो भन्ने पत्ता लाग्न नपाउँदै अप्रिल १९ का दिन उनले संसारलाई अन्तिम बिदाइ दिए।
सन् १७८८ जनवरी २२ मा जन्मिएका बायरनले जम्मा ५६ वर्षको जीवन पाए। त्यसमा पनि उनको सक्रिय र प्रभावशाली साहित्यिक व्यक्तित्वका धनी— बायरनले अंग्रेजी काव्यजगतमा लगभग एकछत्र शासन गरे। उनको कविता ‘द डिस्ट्रक्सन अफ सेनाचेरिब’ अध्ययन गर्दा पाठकहरू केवल कविताबाट कवितामात्र होइन,एउटा शक्ति, एउटा युगको भावनात्मक प्रतिरोध गर्न उर्जा मिलेको महसुस गर्थे।
त्यो समय यस्तो थियो,एकातिर बायरनका बगली र झोलाभरि युवतीका चिठी हुन्थे,जसमा लेखिएको हुन्थ्यो, ‘ओ बायरन, आइ वान्ट टु मिट/टक/डाइन/सिट/स्लिप विथ यु…।’ अर्कातिर, यस्ता चिठीका थुप्रा बोकेर बाटो हिँडिरहेका बायरनलाई देखेर प्रौढ महिलाहरू बार्दलीबाट चिच्याउँथेँ,‘ओ लेडिज, सट योर डोर्स, बायरन इज कमिङ।’