काठमाडौँ । सुडानको सरकारी सेना र अर्ध सैन्यबल र्यापिड सपोर्ट फोर्सबीच डेढ महिनायता शक्ति संघर्ष जारी छ । सुडानको यस गृहयुद्धमा हालसम्म १८ सयले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी घाइते भएका छन् । गत अप्रिल १५ का दिनबाट सुरु भएको गृहयुद्ध हालसम्म जारी रहँदा १० लाख मानिस विस्थापित भइसकेको अवस्था छ । त्यहाँका लाखौँ जनता देश छाडेर छिमेकी राष्ट्रमा शरणार्थीका रूपमा जीवन बिताइरहेको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय ओसीएचएले उल्लेख गरेको छ ।
युद्ध जारी रहँदा राजधानी खार्तुमको अनाथालयलाई पनि ठूलो धक्का लागेको देखिएको छ । युद्धका कारण अनाथालयका कामदारहरू देश छाडेर भागेको अवस्था छ, जसकारण त्यहाँ कामदारको अभाव भएको छ । सुडानको सबैभन्दा ठूलो माइगोमा अनाथालयमा युद्ध जारी भएयता ५० शिशु र बालबालिकाको मृत्यु भइसकेको रोयटर्सले जनाएको छ । त्यहाँका डाक्टर अबिर अब्दुल्लाहका अनुसार हाल केही कामदारको भरमा त्यहाँ सयौँ शिशु र बालबालिकाको हेरचाह गर्नुपर्ने अवस्था छ ।
बालबालिका र शिशुहरू हेरचाह हुन नपाएका कारण कुपोषण र पानीको अभावले ज्यान गुमाइरहेका छन् । युद्ध सुरु भएको ६ हप्ताको अवधिमा सो अनाथालयमा २४ शिशुसहित ५० बालबालिकाको मृत्यु भएको डाक्टर अब्दुल्लाहको भनाइ छ । आफूहरूले बच्चालाई जोगाउन मेहनत गर्दागर्दै पनि हेरचाह गर्ने मानिसको अभावमा बालबालिकाले अकालमै ज्यान गुमाइरहेको उनी दुःखी हुँदै सुनाउँछन् । युद्ध सुरु भएयता आठ जना मानिस मात्र सो अनाथालय भ्रमणका लागि गएका छन् । बरु उल्टै सो अनाथालयमा कामदारहरू त्यहाँबाट भाग्न बाध्य छन् ।
अनाथालय बाहिर पनि युद्ध चल्ने गरेको छ । जसकारण गोलीको आवाज सुन्दा बच्चाहरू रुने गरेका छन् । सुडानी युद्धरत पक्ष अर्थात् सरकारी सेना र आरएसएफले मे ११ मा एक सम्झौता गरेका थिए । त्यो सम्झौतामा युद्धविराम गर्ने विषय भने उल्लेख थिएन । अर्थात् उनीहरू अझै लडाइँ जारी राख्न चाहन्छन् । सुडानका नागरिकलाई आपत्कालीन मानवीय सहायता पुर्याउन र सुरक्षित स्थानान्तरणको व्यवस्था गर्न दुवै सैन्य गुट सहमत भएता पनि उनीहरूले युद्धविराम नगर्ने अडान लिइरहेका छन् । जसकारण त्यहाँ युद्ध रोकिने कुनै संकेत देखिएको छैन ।
हाल सुडान रणभूमिमा परिणत हुनुमा त्यहाँकै दुई सैन्य जनरल दोषी छन् । सरकारी सेना सुडानी आर्म्ड फोर्सका प्रमुख अब्देल फतेह अल बुरहान र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स आरएसफका प्रमुख मोहम्मद हमदान दगालोबीचको शक्ति संघर्षका कारण यो अवस्था सिर्जना भएको हो ।