फोर्डले आफ्नो लोकप्रिय एसयूभी ब्रोंकोको ईभी र प्लग–इन–हाइब्रिड संस्करण सार्बजनिक गरेको छ । अमेरिकामा सबैभन्दा लोकप्रिय एसयूभी मध्ये एक मानिने ब्रोंकोको ईभी भर्सन चिनियाँ बजारकै लागि भनेर ल्याउन लागिएको हो ।
बीवाईडीको ब्लेड ब्याट्री जडान गरिएको सो एसयूभीको लम्बाई ५०२५ मिमी, चौडाई १९६० मिमी र उचाई १८१५ मिमी तथा ह्वीलवेस २९५० मिमी छ । लुकका हिसाबले, यो ब्रोंको स्पोर्ट जस्तै छ र टेलगेटमा स्पेयर टायर राखिएको छ ।
ब्रोंको ईभीमा फोर्डले १०५.४ किलोवाट आवरको ठूलो ब्याट्री प्याक दिएको छ, जसले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । अल ह्वील ड्राइभ सिस्टम दिइएको सो एसयूभीमा दुईवटा मोटर राखिएको छ, जसको संयुक्त पावर ३११ बीएचपी छ । कारलाई १७० किलोमिटर प्रति घन्टाको गतिमा हाँक्न सकिन्छ ।
साथै ब्रोंकोको प्लग–इन हाइब्रिड संस्करणमा दुईवटा विद्युतीय मोटर र १.५–लिटरको पेट्रोल इन्जिन जडान गरिएको छ । एकसटेन्डेड रेन्ज ईभीका रुपमा आएको यस संस्करणमा ४३.७ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसको ईभी रेन्ज २२० किलोमिटर र समग्र रेन्ज १२०० किलोमिटर दाबी गरिएको छ ।
ब्रोंको ईभीलाई चीनमा जियाङ्लिङ मोटर्स (जेएमसी) ले उत्पादन गर्नेछ । चीनमा यो एसयूभी यसै वर्षको चौथो त्रैमासिकमा लन्च हुने अनुमान गरिएको छ ।